सलोन र आमेश व्युटी पेजेन्ट मार्फत नयाँ फिल्मका लागि कलाकार छान्दै

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ हुने

व्युटी न्युज नेपाल

काठमाडाैं, १२ जेठ

  अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारी लगायतको टीमले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै देशभरका प्रतिभालाई नेपाली चलचित्र क्षेत्रमा बिशेष अवसर दिने भएका छन् । यी दुइले यूवा कलाकारहरुको टीमले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भएका छन् ।

‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’को टीममा सलोन र आमेशको साथमा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा करियर बनाउन चाहने प्रतिभावान युवा-युवतीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन सक्ने अभिनेता सलाेनले बताए ।

यसअघि ‘मोनाली ठाकुर लाईभ इन नेपाल’ कार्यक्रम सफलताका साथ सम्पन्न गरेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । यहि असारबाट अडिशन शुरु हुने प्रतियोगिताको लागि आवेदन फारम खुल्ला भईसकेको छ ।  काठमाडौं उपत्यकाबाट शुरु हुने प्रतियोगिता देशभरका आठ शहरमा हुने बताईएको छ ।

प्रतियोगिता दुई चरणमा हुनेछ । काठमाडौं सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा र विराटनगरमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट ६-६ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।

काठमाडौं उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ भने त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ । आठवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौमा नै आयोजना हुने बताईएको छ ।

आठ वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली चलचित्रमा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुनका लागि १६ बर्ष देखी २४ बर्ष भित्रका एसईई पास गरेका नेपाली नागरिक हुनुपर्नेछ । युवकको लागि ५ फिट ५ इन्च देखी माथी र युवतीको लागि ५ फिट २ इन्च देखी माथीको उचाईलाई मान्यता दिईने अायाेजक पक्षले जनाएकाे छ ।