‘लालीबजार हामीले हेर्नै पर्ने फिल्म बनेको छ’– बादी समुदायका अभियान्ता


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ वैशाख

वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ अहिले दर्शकमाझ चर्चामा छ। ट्रेलर सार्वजनिक भएदेखि नै बादी समुदायको कथावस्तु समेटिएको विषयलाई लिएर फिल्मले विशेष चासो पाएको हो। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का ले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन्। शासक वर्गको शोषण सहँदै आफ्ना सन्तानलाई शिक्षाको उज्यालो दिन एक आमाले गरेको संघर्ष नै फिल्मको मुख्य कथा हो ।

चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्। विशाल थिएटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताका रूपमा परिचित छिन् ।

निर्देशक तथा लेखक यम थापा ले निर्देशन गरेको फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ। अर्थात्, सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न सक्नेछन्। ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको षट्कोण आट्र्सको यो नयाँ प्रस्तुति हेर्न पछिल्लो समय परिवारसहित दर्शक हलसम्म पुगिरहेका छन् । फिल्म प्रदर्शनपछि बादी समुदायका अभियन्ताहरूले यसको खुलेर प्रशंसा गरेका छन्। बादी समुदायकी अभियन्ता देवीसरा बादीले फिल्म हेर्दा आफूलाई आफ्नै जीवनकथा देखिएको बताइन्।

उनले भनिन्, “यो फिल्म मेरो पनि कथा हो। मेरी आमाले पनि धेरै संघर्ष गरेर मलाई पढाउनुभयो। फिल्म हेर्दा मैले आफ्नै आमालाई सम्झिएँ। यो हरेक आमा र छोरीले हेर्नै पर्ने फिल्म बनेको छ। हरेक समुदायका महिलाले गर्व महसुस गर्ने कथा यसमा छ।”

 

देवीसराले फिल्मलाई लिएर समुदायमा उठाइएका केही आपत्तिहरू फिल्म हेरेपछि स्वतः हट्ने दाबी गरिन्। उनका अनुसार फिल्मले समुदायको घाउलाई केवल देखाएको मात्र होइन, त्यसलाई सम्मानपूर्वक प्रस्तुत गरेको छ ।

“फिल्म हेर्दा आँखा नरसाउने सायदै होलान्। मैले हलबाट निस्किएर आमालाई फोन गरेर हालखबर सोधेँ। हाम्रो पीडा नदेखाएसम्म उपचार हुँदैन। फिल्मले विगतको पीडाभन्दा पनि सुन्दर भविष्यको आशा देखाएको छ,” उनले भनिन् ।
अर्की अभियन्ता कृषा बादीले पनि फिल्मले कुनै समुदायको भावनामा ठेस नपु¥याएको बताइन् । उनले भनिन्, ‘यो फिल्मले मलाई आमाको संघर्ष झन् गहिरोसँग महसुस गरायो। फिल्म हेर्दा धेरै रोएँ। हाम्रो समुदायका दिदीबहिनीलाई म यो फिल्म हेरेर आफ्नै प्रतिक्रिया दिन आग्रह गर्छु ।’

उनका अनुसार फिल्ममा छोरीको भविष्यका लागि आमा समाज, सत्ता र राज्यसँग जुधिरहेको देखाइएको छ, जसले समुदायका महिलालाई प्रेरणा दिनेछ । बादी समुदायकै अर्की अभियन्ता सुमन बादीले फिल्मबारे बाहिर फैलिएको नकारात्मक हल्लामा सत्यता नरहेको बताइन् ।

“पहिला फिल्म बन्ने कुरा सुन्दा मलाई पनि डर लागेको थियो। किनकि हाम्रो समुदायलाई धेरैजसो नराम्रो रूपमा मात्रै चित्रण गरिएको पाइन्छ। तर ‘लालीबजार’ले महिलाको संघर्ष र सफलतालाई सम्मानका साथ प्रस्तुत गरेको छ। यसको मूल सन्देश नै प्रशंसायोग्य छ,” उनले भनिन् ।

उनले पोस्टर वा ट्रेलरको आधारमा धारणा नबनाई फिल्म हेरेर मात्रै निष्कर्ष निकाल्न आग्रह गरिन् । अर्की अभियन्ता यस्थर बादीले फिल्मले कानुनी विवाद झेल्नुपरेकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्,‘हाम्रै समुदायकी एक महिलाले फिल्म रोक्न कानुनी प्रक्रिया अपनाउनुभएको थियो। तर फिल्म हेर्दा त्यस्तो आपत्तिजनक केही छैन। यो आमा र छोरीको संघर्षको कथा हो। फिल्मले ‘छोरी पढाऔं, अगाडि बढाऔं’ भन्ने सकारात्मक सन्देश दिएको छ। यस्तो फिल्म हामीले समुदायस्तरमै देखाउनुपर्छ ।’

यस्थरले विशेषगरी महिलाहरूले यो फिल्म हेर्नुपर्नेमा जोड दिइन्। फिल्म हेर्ने अधिकांश दर्शक तथा सेलिब्रेटी भावुक बनेको निर्माण टिमले जनाएको छ । निर्देशक यम थापाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको बताए,‘अहिले परिवारसहित दर्शक हलमा आइरहनुभएको छ। दर्शक खुसी भएर फर्किनु नै हाम्रो सबैभन्दा ठूलो सफलता हो,’ उनले भने ।

फिल्मको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।