राजधानी समाचारदाता
काठमाडौँ, २५ वैशाख
चलचित्र ‘लालीबजार’ १३० भन्दा बढी चलचित्र घरबाट आज २५ गते शुक्रवार रिलिज भएको छ । यो चलचित्रले देश भर १८० भन्दा बढी शोहरु पाएको छ । रिलिज भएको तीन चलचित्र मध्ये आजको ओपनिङ हेर्दा ‘लालीबजार’को व्यापार माथि छ ।
यम थापाले निर्देशन गरेको यो चलचित्रलाई प्रदीप भट्टराई, म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गरेका हुन् । यो चलचित्रको हिजो बिहिबार बेलुका काठमाडौँमा प्रिमियर सो गरियो । प्रिमियर सोमा यसले राम्रो प्रशंसा पायो ।
स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, बिरबल चौधरीलगायतका कलाकारहरूको अभिनय रहेको यो चलचित्रको बिहीबार बेलुका काठमाडौँमा प्रिमियर गरिएको थियो ।
सुरुमा यो चलचित्र गत १८ वैशाखमा रिलिज हुने तयारीमा थियो । तर एक जना बादी समुदायकी महिलाले चलचित्र ‘लालीबजार’लाई पाटन उच्च अदालतमा रिट दायर गरेपछि यो चलचित्रलाई अदालतले रोकेको थियो ।
बुधवार अदालतबाट प्रदर्शनको लागि फुकुवाको फैसला भएपछि चलचित्र ‘लालीबजार’ आज शुक्रबारबाट रिलिज भएको हो । सिमान्तकृत बादी समुदायको कथामा आधारित भए पनि यो चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको छ । यो चलचित्रलाई परिवारका सबै सदस्यले सँगै बसेर हेर्न मिल्छ । आज मध्यान्नसम्म चलचित्रले धेरै जसो हलमा राम्रो दर्शक पाएको छ ।




