ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ वैशाख
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शीतल निवासमा आयोजित एक समारोहबिच विभिन्न संगीतकर्मीहरुलाई ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार २०८१’ प्रदान गरेका छन् । सो समारोह नातिकाजी स्मृति समाजको अध्यक्ष एवम् बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । संगीत महर्षि नातिकाजीको १०१ औ जन्म जयन्तीको अवसर सो सम्मान एवम् पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित एवम् पुरस्कृत कलाकारहरुद्धारा सामुहिक रुपमा ‘यो नेपाली शिर उचाली…’ गीत प्रस्तुतसँगै कार्यक्रम सुरु भएको थियो । सो समारोहमा पुरस्कार अन्तर्गत ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०८१’ ६ जना संगीतकर्मीहरुलाई प्रदान गरियो । गायक रोशन गुरुङ, संगीतकार ताराप्रकाश लिम्बु, गीतकार मनोज खड्का, गायिका सरिता शाही, संगीत संयोजक चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारीले यो पुरस्कार प्राप्त गरे । यसै गरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ गायिकाद्धय सहिमा श्रेष्ठ, बिपना तामाङ र गायक सुरेश लामालाई प्रदान गरियो । समारोहमा सहिमा र सुरेशले नातिकाजीद्धारा संगीतबद्ध एक÷एक वटा गीत समेत प्रस्तुत गरेका थिए ।
सोही समारोहमा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०८१’ शास्त्रीय संगीतकार प्रमोद उपाध्यायलाई प्रदान गरियो भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०८१’ पत्रकारद्धय अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ थियो ।
सोही समारोहमा राष्ट्रपति पौडेलले गायन, संगीत सृजना, गीत लेखन र वाद्यवादनका ९ जनालाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०८१’ प्रदान गरे । विशिष्ट सम्मानबाट सम्मानित हुनेमा गीतकार वीरेन्द्र पाठक, नारायणकुमार आचार्य, साबु गदाल, गीतकार, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्य, संगीतकार निर्वाण सिंह गुरुङ र गीतकार एवम् संगीतकार अष्ट लामा, गायकहरूमा जुजुकाजी रञ्जित, शशी गुरुङ, गणेश पराजुली रहेका थिए ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत एवम् सम्मानित सबैलाई बधाई दिए । नेपाली आधुनिक संगीतको विकासमा संगीत महर्षी नातिकाजीको महत्वपूर्ण योगदान रहेको राष्ट्रपति पौडेलले बताए ।
नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटाल नेपाली सुगम संगीतमा संगीत महर्षि नातिकाजीको योगदानको चर्चा गरे । कार्यक्रममा सबैलाई स्वागत गर्दै नातिकाजीको चाहना अनुसार संगीतकर्मीहरुको योगदानको सम्मानको लागि यो पुरस्कार एवम् सम्मान प्रदान गर्दै आएको पनि बासकोटाले बताए ।




