पद्मावत समिक्षाः राजपूत पराक्रमको गाथा


मुम्बई(एजेन्सी) । बलिउड निर्देशक सञ्जय लिला भन्साली भन्नासाथ दर्शकलाई ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘गोलियों की रासलीला रामलीला’ र ‘बाजीराव मस्तानी’ जस्ता फिल्म आँखामा आउँछन् । उनको अहिलेको फिल्म ‘पद्मावत(पहिलेको पद्मावती)’को सन् २०१६ नोभेम्बरमा सुटिङ शुरु भएदेखिको विवादको श्रृंखला अहिले पनि जारी छ । लगातार भइरहेको विवादका बाबजुद पनि फिल्म २५ जनवरीमा रिलिज हुँदैछ ।

यस्तो छ कथा
फिल्मको कथा तेह्रौं शताब्दीबाट शुरु हुन्छ । जब खिलजी वंशका शासक जलालुद्दीन खिलजी (रजा मुराद) अफगानिस्तानमा आफ्नो टुकडीसँग बसिरहेको दिल्लीलाई जित्ने योजना बनाइरहेका हुन्छन् । त्यही बेला उनका भतिजा अलाउद्दीन खिलजी (रणवीर सिंह) आउँछन् र काकाकी छोरी मेहरूनिसा (अदिति राव हैदरी) सँग इन्गेजमेन्ट गर्छन् । केही घटना पछि अलाउद्दीनले काकालाई मारेर दिल्लीको राजा बन्दछ ।

त्यही मेवाडका राजा महारावल रतन सिंह (शाहिद कपूर) जब सिंघल देश जान्छन् । त्यो बेला उनको भेट राजकुमारी पद्मिनी (दीपिका पादुकोण)सँग हुन्छ । पद्मिनीसँग प्रेम भएपछि महारावल उनलाई विवाह गरेर चित्तौड लिएर आउँछन् । यो बीचमा केही कारणले राज्यका पुरोहित राघव चेतनलाई देश निकाला गरिन्छ र उनी रिसमा दिल्ली गएर अलाउद्दीन खिलजीलाई रानी पद्मावतीको रुपको बखान गर्छ । पुरोहितको कुराबाट प्रभावित भएर अलाउद्दीन चित्तौडमा आक्रमण गर्न निस्कन्छ । चित्तौड गएर ऊ महारावलसँग छल गरेर उनलाई बन्दी बनाएर दिल्ली ल्याउँछ र महाराजलाई छोड्नका लागि एक पटक महारानी पद्मावतीको अनुहार हेर्ने शर्त राख्छ । यो पछि कथामा धेरै मोड आउँछ र अन्त्यमा जीत राजपूतको शौर्य र पराक्रमबाट नै हुन्छ ।

किन हेर्ने फिल्म
सञ्जय लीला भन्सालीको फिल्ममा भिजुअल ट्रीट नै उनको फिल्म मेकिङको शैली हा । चाहे युद्धको सिक्वेन्स हो, महाराजा र रानीको बीचको दृश्य होस् । हरेक फ्रेममा तपाईलाई सञ्जयको स्पेशल टच देख्ने मौका मिल्नेछ । फिल्मको आर्टवर्क कमालको छ र जे दृश्य तपाईको आँखाको अगाडि आउँछ, त्यसले आँखालाई शितलता दिन्छ । फिल्मको पटकथालाई काल्पनिक बताइएको छ र कहानीको अन्त्य सबै दर्शकलाई पहिला नै थाहा हुन्छ । तर कहानीलाई निर्देशकले निकै दिलचस्पी किसिमले बनाएका छन् ।

फिल्ममा दीपिका पादुकोणको अभिनय जबदस्त छ । रानी पद्मिनीको भूमिकामा दीपिकाको काम सराहनीय छ । शाहिद कपूरले महाराजा रावल रतन सिंहको भूमिकामा एक जिम्मेवार पति र राजाको भूमिका निभाएका छन् । अलाउद्दीन खिलजी जस्ता क्रुर व्यक्तिको रुपमा पर्दामा भूमिका निभाउन रणवीर सिंहले कुनै कसुर बाँकी राखेका छैनन् ।

कमजोर पक्ष
पहिलोपटक सञ्जय लीला भन्सालीको फिल्मलाई घडीमा देखाउने कोशिस गरिएको छ । जसकारण फिल्म निकै लामो पनि बनेको छ । फिल्मको मध्यान्तर अघिको दृश्यलाई राम्रो किसिमले सम्पादन गरिएको भए फिल्म अझ छोटो हुने थियो ।