हिमालय टिभीमा आउँदै ‘डान्सिङ वीथ द स्टार नेपाल’


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

नायक, नायिका, गायिक, गायिका, पत्रकार, लेखक, खेलाडी जस्ता विभिन्न सेलीबे्रटीबीच नृत्य प्रतियोगिता गराउँदै हिमालय टिभीले डान्स रियालिटी शो ‘डान्सिङ विथ द स्टार नेपाल’ प्रशारण गर्दैछ ।

लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ अब चाँडै आउने सो टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले बताएका छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले भने, लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याने निधो गरेका छौं ।’

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले बताए ।ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको कँडेलको कथन छ ।

‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने,‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’

पौडेलका अनुसार यो कार्यक्रममा २६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन ।