एप्समा आयो बायोग्राफी अफ नेपाली कमेडी आर्टिस्ट


ब्युटी न्युज नेपाल

काठमाडौं, ६ भदौ 

केही वर्ष अघि नेपाली हाँस्यव्यङ्ग्य कलाकारको जीवनी सङ्ग्रहित पहिलो पुस्तक निकालेका लेखक जीवनराज दाहालले पछिल्लो समय केही नयाँ सोचका साथ नयाँ हाँस्यव्यङ्ग्य कलाकारको नामावली थपि निःशुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका छन् ।

“अब पहिलेझैँ किताब किनेर पढ्नु पर्दैन, आफ्नो एन्ड्रोइड मोबाइल वा ट्याब्लेटबाट निःशुल्क रुपमा किताब नै पल्टाएझैँ पन्ना पल्टाइ पल्टाइ पढ्न मिल्छ”, जीवनले भने । ७२ जना हाँस्यव्यङ्ग्य कलाकारको फोटो सहितको जीवनी समेटिएको एपमा नयाँ पुराना ३०० जति यसै क्षेत्रका कलाकारको नामावली समेटिएको छ । नेपालमा हास्यव्यङ्ग्यको सुरुवात, गाईजात्राको सुरुवात, चलचित्रमा हाँस्यरसको सुरुवात, नेपालका हास्य जोडीहरू लगायत देशका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको शुभकामना समेत समेटिएको छ ।

हिरादेवी नेपालद्वारा प्रकाशन गरिएको उक्त किताबलाई विश्व स्वतन्त्र सञ्चारले वितरण गरेको थियो । नेपाली एप्स घरले पब्लिक गरेको उक्त एपको नाम “बायोग्राफी अफ नेपाली कमेडी आर्टिस्ट” राखिएको छ । पाँच एम. बि. साइज रहेको उक्त एपलाई प्लेस्टोरबाट आफ्नो एन्ड्रोइड सेटमा सजिलै इन्स्टल गरी पढ्न सकिन्छ ।

“हाल एन्डोरोईड भर्सनमा पढ्न मिल्ने एपलाई सम्भव भएसम्म ओएस भर्सनमा ल्याउने”  सम्पादक उद्धवकुमार घिमिरेको विचार छ । जीवनराज दाहालले तयार पारेको कलाकारको जीवनी सङ्ग्रहलाई उद्धव कुमार घिमिरेले सम्पादन गरेका हुन् ।