जन्म दिन मनाउँदै राजेश हमाल, कती वर्षका भए उनी ? 

ब्युटी न्युज नेपाल

काठमाडौं, २६ जेठ

नेपाली अभिनेता राजेश हमालको आज जन्म दिन । उनले बिहानै देखि विभिन्न कार्यक्रम गरेर आफ्नो जन्म दिन मनाईरहेका छन् ।

जेठ २६ अर्थात ९ जुनमा जन्मिएका राजेश हमाल आजबाट थप एक वर्ष पाको भएका छन् । तर उनी अहिले कतीवर्ष भएर भनेर हामी ठोकुवा गर्न सक्दैनौं । न त अरुले नै दाबी गर्न सक्छन् । उनको उमेर एउटा रहस्य बनेको छ ।

राजेश हमालको बास्तविक उमेर कती हो भनेर उनीबाहेक धेरैलाई थाहा नहुन सक्छ । राजेशकै भनाई मान्ने हो भने उनी अहिले ५३ वर्षमा लागे ।

 यता उनको बारेमा सबै सूचना राखेको अन्तराष्ट्रिय डिजिटल सूचना केन्द्र विकिपिडियाका अनुसार उनी आजबाट ५५ वर्षमा लागे । तर केही सिनेकर्मीहरु राजेश हमालको उमेर कम्तिमा ५८ वर्ष भएको हुनुपर्छ भन्छन् । उनको उमेरबारे यसरी फरक फरक धारणा आएको छ । जे भए पनि राजेश हमालको दाबी अनुसार उनी ९ जुन १९६४ मा पाल्पा जिल्लाको तानसेन बजारमा जन्मिएका हुन् ।

उनले काठमाडौंको भनुभक्त मेमोरियल स्कुल गायत विभिन्न स्थानबाट स्कुलको पढाई सम्पन्न गरे । किनकी उनका बुबा सरकारी जागिरे भएका कारण उनले विभिन्न स्कुलमा चाहारेर पढाई सम्पन्न गर्नु परेको थियो । उनले भारतको चन्डीगढ विश्वविधालयबाट मेजर इङलिसमा एम ए उतिर्ण गरेका छन् । एक समय राजेशलाई मेजर अँग्रेजीमा एमए पास गरेको एक मात्र नायक समेत भनिन्थ्यो ।

अभिनेता राजेश हमालको फिल्मी करिअर पनि त्यत्तिकै रोचक छ । उनी फिल्ममा नायक बन्नु अघि मुम्बईमा बसेर मोडलिङ गरिरहेका थिए । उनको मोडलिङबाट प्रभावित भएर राजेश हमाललाई पहिलो पटक २०४५ सालमा  दीपक रायमाझीले चलचित्र भाग्य रेखाका लागि नायकमा चयन गरे । सो फिल्ममा नायिका कृष्टी मैनाली थिईन् । तर सुटिङको तयारीकै क्रममा राजेश हमालले फिल्म भाग्यरेखा छाडे । कृष्टी मैनालीसँग मन मुटाव भएर उनले फिल्म छाडेको हल्ल त्यतिबेला चलेको थियो । राजेशले छाडेपछि त्यो फिल्ममा रविन्द्र खड्का नायक भएका थिए ।

त्यसपछि अभिनेता राजेश हमाल २०४७ सालमा नयाँ चलचित्र युग देखि युगसम्ममा अनुबन्धित भए । यो फिल्मको  निर्देशक पनि उनकै मामा दीपक रायमाझी नै थिए । छबीराज ओझा लगायतले निर्माण गरेको राजेश हमालको पहिलो फिल्म युग देखि युगसम्म त्यो समय सुपर हिट भयो । त्यसपछि राजेश हमालले दुई दशकसम्म नेपाली चलचित्र उधोगमा एक छत्र राज गरे । कुनै समय यस्तो पनि आयो की वर्षभरीमा रिलिज हुन ४० फिल्ममा ७,८ ओटा फिल्म त राजेश हमालकै हुन्थे । उनले एकै दिनमा तीन फिल्मको समेत सुटिङ गरेको रेकर्ड छ ।

युगदेखि युगसम्मबाट सुरु भएको अभिनेता राजेश हमालको अभिनय यात्रा अहिलेसम्म पनि जारी छ । उनले कसम,गोपिकृष्ण, देउता, अधिकार,चट्याङ, पृथ्बी, अपराध, परिभाषा, सडक, शँकर, ढुकढुकी, अर्जुन, गोरेटो, भरिया, अल्लारे, बसन्ती, खानदान, चमत्कार, सन्यास, दुलही, हामी तीन भाइ, राजु राजा राम, कवच, सपनाको नौलो संसार, चट्टान, अजम्बरी नाता, पालेदाई, किन किन, सपना, तडप, बरदान, जीवनदाता, द युगदेखि युगसम्म, धर्मा, छबिलाल कन्जुस छैन, दुःख, आशीर्वाद, जंगवाज, प्रतिक्षा, संघर्ष, बाटूली, मैदान, करन अर्जुन, कर्णबीर, कर्म योद्दा, हाता लाग्यो शुन्य, भगवान सबैको, स्वाभिमान, चोर सिपाही, मेरो राजेश दाई, बागमती, बाटो मुनीको फुल, मुखोैटा, सकुन्तला जस्ता थुप्रै फिल्मका काम गरिसकेका छन् ।

उनी पछिल्लो समय चलचित्र भन्दा टिलिभिजनबाट आउने क्वीज सम्बन्धि रियालिटी शोमा बढी व्यस्त हुन थालेका हुन् । अहिले उनी टेलिभिजन रियालिटी शो को बन्छ करोड पतिमा व्यस्त छन् ।

हालै मात्र अभिनेता राजेश हमाल अर्का अभिनेता प्रदीप खड्कासँग निर्माता निर्देशक सन्तोष सेनको फिल्म प्रेम गीत ३ मा अनुबन्धित भएको बताईएको छ । तर यो समाचारलाई निर्माता निर्देशक सेनले आधिकारिक रुपमा घोषणा गरेका छैनन्

अभिनेता राजेश हमाल कसरी महानायक भए भन्ने तथ्य पनि त्यत्तिकै रोचक छ । उनले महानायकको उपाधि सरकारबाट पाएका हैनन् । एउटा मिडियाले दिएको उपाधि हो यो । करिब एक दशक अघि पत्रकार प्रकाश सुवेदीले फिल्म सम्बन्ध टेलिभिजन कार्यक्रम रजतपटको वार्षिक उत्सबमा अभिनेता हमाललाई महानायकको उपाधिबाट सम्मान गर्यो । त्यो सम्मानपछि रजतपट सहितका मिडियाले उनलाई महानायक भनेर सम्बन्धन गर्न थाल्यो । त्यसको लगत्तै नेपाल चलचित्र प्राविधिक संघबाट अर्थात प्राविधिकहरुले पनि राजेश हमाललाई महानायकको रुपमा सम्मान गर्यो ।

यसरी रतजपट र प्राविधिक संघले महानायक भनेपछि बिस्तारै अरुले पनि उनलाई महानायक भन्न थले । अन्तत राजेश हमाल महानायकको रुपमा चिनिँदै गए ।

आज राजेश हमालको विभिन्न कार्यक्रम गरेर जन्मदिन मनाईँदैछ । उनलाई व्युटी न्युज नेपालका तर्फबाट पनि जन्म दिनको मुरी मुरी शुभकामना ।