बुबाको पथ पहिल्याउँदै नायक बनेका अंकित

ब्युटी न्युज नेपाल
काठमाडौं, ९ असोज

नवोदित अभिनेता अंकित शर्माको नयाँ चलचित्र ‘रातो टीका निधारमा टलक्क टल्कियो’ १० असोज शुक्रबारबाट सिनेमा हलमा रिलिज हुँदैछ । दुई सातादेखि आफ्नो फिल्मको प्रचारमा व्यस्त रहेको उनी अब भने निकै ढुक्क छन् ।

‘रातो टीका निधारमा’बाट अंकितले डेब्यु गर्दै छन् । यो फिल्मलाई अंकितका बुबा अशोक शर्माले निर्देशन गरेका हुन् । फिल्मकी निर्माता अंकितकै आमा किरण शर्मा हुन् ।

आमा बुबाले आफ्नो जीवननै चलचित्रमा बिताएपछि अंकितलाई पनि चलचित्रले तान्यो । घरमा सँधै फिल्मी माहौल हुने भएकाले पनि उनी बाल्यकाल देखिनै फिल्मसँग नजिक भए । विदेशमा उनले चलचित्र नै अध्ययन गरे ।

पढाई सकेर नेपाल आएपछि अंकितले बुबा अशोक शर्मालाई गत वर्ष चलचित्र जय भोलेमा मुख्य सहायक निर्देशक भएर सघाए ।

स्कुले जीवनमा थुप्रै नाटक गरेका अंकितलाई जब बुबाले फिल्ममा नायक बन्ने प्रस्ताव राखे । उनले सहजै स्विकारे । गतसाल केही मोटा अंकित करिब ६ महिनाको लगातार मेहनत पश्चात शारीरिक रुपमा फिट भए । अनि अभिनेत्री साम्राज्ञीसँग जोडी बान्दै चलचित्र रातो टीका निधारमा हिरोको रुपमा उत्रिए ।

यो चलचित्रमा अंकितले साम्राज्ञीको नायकको भूमिका निर्वाह गरेका छन् । चर्चाको चुलिमा रहेकी अभिनेत्री साम्राज्ञीसँग पहिलो दिन काम गर्दा केही अप्ठेरो लागेको अनुभव अंकितले सुनाएका छन् । तर, साम्राज्ञीले आफूलाई धेरैकुरा सिकाएर अभियनमा पूर्ण साथ दिएपछि उनीसँग काम गर्न सोचेको भन्दा निकै सजिलो भएको पनि अंकितले बताए ।

अंकितका अनुसार यो चलचित्रमा साम्राज्ञीले गाउँमा नेतृत्वदायी युवतीको भूमिका निर्वाह गरेको र आफू एवं साम्राज्ञीको प्रेमको आरोह अवरोहमा फिल्मको कथा केन्द्रित रहेको पनि यी नवोदित अभिनेताले जानकारी गराए ।

अंकितका बुबा अशोब शर्मा एक समायका सफलत नायक हुन् । नव अभिनेता अंकित पनि बुबाकै बिँडो थाम्दै चलचित्रका नायक बनेका छन् र उनी पनि बुबाजस्तै नेपाली चलचित्रमा अभिनयमा सफल हुने लक्ष्यका साथ अघि बढेका छन् । त्यो लक्ष्यलाई आफूले चलचित्र रातो टीका निधारमाबाट पहिल्याउन सुरु गरिसकेको यी नवोदित अभिनेताको कथन छ ।