महाजात्रामा महाभ्रष्टको रुपमा छु : हरिबँश आचार्य


चलचित्र महाजात्रा आगामी ९ चैतबाट देशव्यापी रिलिज हुँदैछ । जात्रा र जात्रै जात्राको सफलता पछि तेश्रो सिक्वेलको रुपमा महाजात्रा बनेको हो । महाजात्राबाट यो सिक्वेलमा अग्रज अभिनेता हरिबँश आचार्य जोडिएका छन् । यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । त्यसो त प्रदीपको निर्देशनमा बनेको चलचित्र शत्रुगते, महाजात्रामा यस अघि हरिबँशले सफलता हाँसिल गरिसकेका छन् । यी दुबै हिट फिल्म हुन् । त्यसो त प्रदीपका गुरु हरिबँश हुन् । आफ्ना गुरू वा पथप्रदर्शक हरिवंश आचार्यलाई प्रदीपले पहिलो फिल्म जात्रामा गायकका रुपमा जोडे । यसपटक उनले मुख्य खलचरित्रमा अभिनेता हरिबँशलाई उतारेका छन् । स्वच्छ र सरल छवी निर्माण गरेका अभिनेता आचार्यले यसपटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीलाई फिल्ममा प्रस्तुत गर्दैछन् । यसै सन्दर्भमा अभिनेता आचार्यसँग गरिएको कुराकानीको मुख्य अँश यहाँ प्रस्तुत गरिएको छ ।

तपाइँले बुझ्नु भएको महाजात्रा के हो ?
जात्राकै शृङ्खला हो । यो रमाइलो छ । यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने सङ्घर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष छन् । उल्लेखित कुराहरू सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतीमार्फत पर्दामा ल्याईएको छ । बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति पनि छ । यो गम्भीर विषयको रमाइलो प्रस्तुती हो ।

चलचित्र महाजात्रामा तपाइँलाई राजनीतिज्ञको नकारात्मक भूमिका निर्वाह गर्न के कुराले आकर्षित गर्यो ?
म आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौँ भन्ने सोच राखेर काम गर्छु । सोही कारण पनि नयाँ र फरक भूमिकामा मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।

प्रदीप भट्टराईले निर्देशन गर्नु भएकै कारण विश्वास बढेको हो ?
एउटा कारण प्रदीप पनि हुन् । उनले हामीसँग मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे । उनीसँग दुई फिल्ममा पनि काम गरिसकेको हुँदा म उनको काम प्रति ढुक्क छु । मलाई उनले पात्रको बारेमा सुनाएपछि मैले सहमति दिएँ । किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दर्शकदेखि थाहाँ छ । मैले फिल्म गर्छु भन्दा पूर्णरुपमा स्क्रीप्ट पनि पढेको थिइन् । किनकि उसका कथाले समाजलाई मनोरञ्जनसँगै संदेश दिईरहेका हुन्छन् । साथै, प्रदीपले फिल्म प्रस्ताव गर्दा नाई भन्ने सायदै होलान् जस्तो पनि लाग्छ ।

महापुरुष पछि दर्शकको अपेक्षा तपाइँ प्रति बढेको छ, त्यसलाई यसले पुरा गर्छ ?
अवश्य गर्छ । किनकि फिल्मको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । फिल्ममा महाजात्रा नै मेरो कारणले हुन्छ । मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउनु तपाइँ चाहिन्छ भन्नु भएको थियो । भूमिका त्यहि अनुरुप छ ।

तपाइँलाई कुनै भूमिका प्रस्ताव हुँदा के कुरामा बढी ध्यान दिनुहुन्छ ?
मैले फिल्मको विषयवस्तु हेर्छु । त्यसपछि मेरो भूमिकाको कथामा आवश्यकतालाई हेर्छु । अनि फिल्म निर्माण गर्ने टिमले पछिल्ला काम कस्तो गर्नुभएको छ र मलाई कुन किसिमको प्रस्तुतीकरणमार्फत प्रस्तुत गर्दै हुनुहुन्छ, ती सब हेरेर मैले फिल्म गर्ने वा नगर्न निर्णय लिन्छु । यो प्रदीप भट्टराईमा भने लागु हुँदैन, किनकि उनीसँग दुई दर्शक बढी काम गरेकाले म हरेक पाटोमा विश्वस्त हुन्छु ।

फिल्ममा अभिनय गरिरहनुभएको छ, निर्माणको योजना के छ ?
अहिले फिल्म निर्माण भन्दा पनि अभिनयमै केन्द्रीत छु । म राम्रो निर्माण समूहसँग काम गर्ने योजना अनुसार अभिनयमै केन्द्रीत छु । त्यसैले अहिले निर्माणमा केही समय लाग्छ । अहिले मलाई अभिनेताकै रुपमा पाउनु हुनेछ ।