‘वीरगञ्जमा नेपाली चलचित्र बजारको लागि महोत्सब गरेका हौं’-उदय सुब्बा

नेपाल चलचित्र निर्माता संघले २१ कात्तिक बिहिबारबाट बीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सब २०७६ आयोजना गर्दैछ । तराईबर्तित सिमा क्षेत्रमा हुन लागेको यती ठुलो यो पहिलो चलचित्र महोत्सब हो । यो महोत्सबको आयोजक समितिमा नेपाल चलचित्र निर्माता संघका बरिष्ट उपाध्यक्ष उदय सुब्बा हुनुहुन्छ । सुब्बा नेपाली चलचित्रका बरिष्ट निर्माता निर्देशक एवं कलाकारका रुपमा स्थापित हुनुहुन्छ । बिहिबारबाट शनिबारसम्म बीरगञ्जमा हुने नेपाली चलचित्र स्वर्णिम महोत्सब २०७६ को बारेमा ब्युटी न्युज नेपालकी समाचारदाता सरिता भारतीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

बरिष्ट उपाध्यक्षज्यू, नमस्कार । आजकाल केमा व्यस्त हुनुहुन्छ छ ।
नमस्कार हजुर । म नयाँ चलचित्र आकाशे खेतीको छायाँकनको तयारीमा छु । गौरव पहाडी, विल्सन बिक्रम राई, बुद्दी तामाङ, रबिन्द्र झा, निता ढुँगाना, सुनिल थापा, रमा लिम्बु, कृषा गुरुङ, लक्षु शर्मा, प्रकाश शर्मासहितका कलाकारलाई लिएर २५ कात्तिकबाट दोलखादेखि यो फिल्मको छायाँकन सुरु गर्दैछु । अहिले त्यसको तयारीमा छु । २० गतेबाटै सुटिङ थियो । हाम्रो वीरगञ्जमा हुन लागेको महोत्सको कारण यसलाई पाँच दिन पछि सारेको हो । यसपटक हास्यप्रधान चलचित्र निर्माण गर्दैछु ।

अनि महोत्सबको तयारी कस्तो हुँदैछ ?
महोत्सबको तयारी भव्य रुपमा हुँदैछ । हाम्रो महोत्सब बिहिबार कात्तिक २१ गतेबाट शनिबार कात्तिक २३ गतेसम्म वीरगञ्जको रँगशालामा आयोजना हुँदैछ । राष्ट्रपति विधादेवी भण्डारीज्यूबाट हाम्रो यो महोत्सबको बिहिबार बिहान १२ बाजे उद्घाटन हुँदैछ । महोत्सबमा विशेष अतिथिका रुपमा बलिउडबाट त्यहाँ चर्चित कलाकार गोविन्दा पनि हिजै काठमाडौं आईसक्नु भएको छ । महोत्सबमा सहभागी हुनका लागि हामी करिब १०० जना चलचित्रकर्मी आज बुधबार दिउँसो बीरगञ्ज तर्फ जाँदैछौं ।

महोत्सबको लागि वीरगञ्ज नै रोज्नुको कारण नी ?
वीरगञ्जमा नेपाली चलचित्रको बजार विस्तारकै लागि मुख्यरुपमा त्यो ठाउँ रोजेका हौं । त्यहाँ अझै पनि बिदेशी फिल्मका बाहुल्यता छ । नेपाली चलिचत्रलाई तराईमा पनि स्थापित गर्नु पर्छ भन्ने हाम्रो लक्ष्य हो । सोही लक्ष्य अनुरुप प्रदेश २ को मुख्य शहर तथा नेपालका मुख्य प्रवेशद्धार वीरगञ्जमा हामीले यसपटक महोत्सब आयोजना गर्न लागेका हौं ।

नेपाल चलचित्र निर्माता संघले नै यस्तो महोत्सब गर्नुको कारण नी ?
नेपाल चलचित्र निर्माता संघले यो राष्ट्रिय स्तरको महोत्सब गर्नुको मुख्य कारण सरकारबाट यस्तो महोत्सब आयोजना नभएर पनि हो । यो सरकारलाई चुनौती पनि हो । राज्यबाट चलचित्र क्षेत्र सँधै अपेक्षित छ । हामीले भव्यसँग गरेको यो महोत्सबबाट प्रभावित भएर सरकारले पनि आउँदा दिनमा यस्तो महोत्सब गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । हामी हिमाल पहाड तराईको एकताका लागि यो स्वर्णिम महोत्सब गर्दैछौं । नेपाली चलचित्र उधोगले ५० वर्ष नाघेको छ । सोही अबसरमा हामीले नेपाली चलचित्र स्वर्णिम महोत्सब आयोजना गरेका हौं ।

महोत्सबको सुरक्षा व्यबस्था, आतिथ्य सत्कार, मिडिया ब्यबस्थापन आदिको अबस्था कस्तो छ ?
निकै राम्रो छ । महोत्सब अध्यक्ष एवं हाम्रा संघका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सबै तयारी राम्रो भईरहेको छ । महोत्सब संयोजक एवं हाम्रा उपाध्यक्ष बिमल पौडेल लगायतका साथीहरु महोत्सबको स्थानीय व्यबस्थापनमा लागिरहनु भएको छ । भिआइपी सेलिब्रेटीको सुरक्षाको लागि प्रहरी प्रशासन देखि निजी सेक्युरिटी गार्डसम्मले चुस्त रुपमा साथ दिईरहनु भएको छ । सम्पूर्ण अतिथिहरुको आवास, खानपिन, यातायातजस्ता सबैकुरा व्यबस्था भईसकेको छ । मिडियामा तपाई पत्रकारहरुको साथ पाईरहेको छौं । हाम्रो हरेक गतिविधिलाई निरन्तर समाचार बनाएर प्रस्तुत गरिदिनु होला । अनि तपाई र तपाईंको ब्युटी न्युज नेपाल परिवारलाई पनि मेरो तर्फबाट म महोत्सबमा हार्दिक निम्तासँगै स्वागत गर्दर्छु ।

यहाँको निम्ताको लागि हामी आभारी छौं बरिष्ट उपाध्यक्ष ज्यू । अब हामी भोली बिहिबार महोत्सबमा आएर महोत्सबको सफलताका लागि निरन्तर समाचार सम्प्रेषणमा लागिरहने छौं । यो समयको लागि यहाँलाई धन्यबाद ।