‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’को फारम खुला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ जेठ

‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ हुने भएको छ । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा यो अवार्ड हुन लागेको हो । सो अवार्डको लागि यही ७ जेठबाट फारम खुला गरिएको छ । २०८२ बैशाख १ गतेबाट २०८२ चैत ३०सम्म रिलिज भएका गीतहरुले यो प्रतियोगितामा सहभागी हुन पाउने आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले जानकारी गराएका छन् ।

चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको लागि गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, चलचित्र गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण तथा म्युजिक भिडियो अन्तर्गत मोडल, सम्पादक, छायाँकार, नृत्य निर्देशक, निर्देशक जस्ता विधामा फारम खुला गरिएको आयोजक संस्था क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिने छ । यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०८२ बैशाख १ बाट २०८२ चैत ३०सम्म रिलिज भएका चलचित्रहरुले भागलिन पाउने छन् । जसमा निर्देशक, नायक, नायिका, नवनायक, नव नायिका, सहनायक, सहनायिका, खलचरित्र, चरित्र अभिनेता, अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा फारम खुला गरिएको छ ।

नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउँदै सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ बिगत ५ वर्षबाट यो अवार्ड आयोजना गर्दै आएको क्वालिटी फिल्मसका अध्यक्ष तथा म्युजिक भिडियो एवम् चलचित्र निर्देशक उमेश गुरुङले बताए । अवार्डको फारम यही साउन अन्तिमसम्म बुझाउनु पर्ने पनि अवार्ड आयोजक गुरुङले जानकारी गराए । यो अवार्डको अफिसियल पेजबाट तथा आयोजकबाट फारम लिन सकिने छ ।