पहिलो पटक पिएचडी गर्ने नेपाली महिला साहित्यकार बानिरा गिरीको निधन

ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

पहिलो पिएचडी गर्ने नेपाली महिला तथा साहित्यकार डा. बानिरा गिरी अब हामीबीच रहिनन् । उनको आइतबार राति १० बजे कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरको सिभिल अस्पताल पुर्याएको आधा घन्टामा नै उनको निधन भएको थियो । लामो समयदेखि मधुमेहको शिकार उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पिडीत थिइन् । साथै विगत तीन वर्षदेखि उनी अर्धचेतनाको दिनचर्या धानिरहेकी थिइन् । उनका श्रीमान, एक छोरा र एक छोरी छन् । उनको सोमबार पशुपतिमा अन्त्यष्टी गरिएको छ ।

डा.गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उनको न्वारनको नाउँ सत्यदेवी थियो । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट २०२२ सालमा आयोजित ‘प्रथम कविता महोत्सवमा भैरव अर्याल पहिलो र वानीरा गिरी दोस्रो भएका थिए । कञ्चन पुडासैनीका अनुसार ‘सो महोत्सवमा वानीरा गिरी नै प्रथम भएकी थिइन् । तर प्रवासी नेपालीलाई प्रथम कविता महोत्सवमा नै प्रथम पुरस्कार दिन मिल्दैन भन्ने प्राज्ञहरूवीचको मतमतान्तरका कारण उनलाई दोस्रो पारिएको थियो ।’ त्यतिखेर बानीराको कविता सुनेपछि राजा महेन्द्रले उनलाई नेपालमा एमए पढ्नका लागि छात्राबृत्ति दिएर नेपालमै बस्न आग्रह गरेका थिए । त्यसपछि राजा महेन्द्रद्वारा प्रदत्त छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न उनी काठमाडौँ आईन् । उनी २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आवद्ध भइन् । त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक भएपछि उनले एम्एड पनि उतीर्ण गरेकी थिइन् । उनले २०४२ सालमा पीएचडी गरिन् । नेपाली भाषासाहित्यमा पीएचडी गर्ने उनी प्रथम विश्व नारी प्राज्ञ थिइन् ।

डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाईद्वारा डा.वानीरा गिरीको जीवनीकृति ‘विश्व नारीरत्न वानीरा गिरी’ (२०७०) प्रकाशित भयो भने सो कृतिको अङ्ग्रेजी भाषामा दुर्गा वनवासी शिवाकोटीले अनुवाद (२०७८) गरेकी छिन् । डा.वानीरा गिरी विश्व नारी नेपाली साहित्य रत्नको उपाधिका साथै प्रबल गोरखादक्षिणबाहू, महेन्द्र विद्याभूषण (प्रथम), रत्नश्री स्वर्ण पदक, सैनध्वज नन्दकुमारी पुरस्कार, नेपाल राजकीय प्रज्ञापदक, विश्वनारी नेपाली साहित्य पदक, भानुभक्त स्वर्ण पदक, मधुपर्क पुरस्कार, साझा पुरस्कार, लोकप्रियादेवी पुरस्कार, भानुभक्त पुरस्कार, महाकवि देवकोटा पुरस्कार, नेपाली कलासाहित्य डटकम पुरस्कार आदिबाट सम्मानित भएकी थिइन् ।

त्रिमूर्ति निकेतनको आयोजनामा डा.गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइएको थिए । त्यही अवसरमा प्रधानमन्त्री कोइरालाबाट डा.गिरी पाँच लाख रुपियाँ राशि सहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित भएकी थिइन् । सोही अवसरमा कोइरालाले डा.गिरीलाई उनकै उचाई बराबरको ताम्रपत्रसमेत समर्पण गरेका थिए ।

डा.गिरीका पति इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छाले २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भएको थियो । सो फाउन्डेशनको पुँजी राशि झन्नै सात करोड रुपियाँ बराबर रहेको छ ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा.गिरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेकी थिइन् । उनी उक्त सम्मेलनमा भाग लिने पहिलो नेपाली महिला प्राज्ञ थिइन् । डा.गिरीभन्दा १८ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै सम्मेलनमा प्रतिनिधित्व गरेका थिए । डा.गिरीले चीन, वङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, सिङ्गापुर, जापान, इटली, फ्रान्स, नर्वे, निदरल्याण्ड, डेनमार्क, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका आदि मुलुकको भ्रमण गरेकी थिइन् ।