ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ जेठ
चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस सम्मान एवम् पुरस्कार प्रदानसँगै काठमाडौँमा सम्पन्न भएको छ । समारोहमा ५५ हजार ५५५ रुपैयाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान – २०८३ बाट अनन्त वाग्लेलाई सम्मानित गरियो । यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान, संघका दिवंगत पूर्व अध्यक्ष दिनेश सिटौलाको नाममा उनको परिवारलाई समर्पण गरियो ।
समारोहमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान – २०८३ बाट जयन सुब्बा मानन्धर र कुवेर गिरी सम्मानित भए । यस्तै ५१ हजार रुपैयाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८३ बाट वैकुण्ठराज पराजुली पुरस्कृत भए । समारोहमा ५१ हजार रुपैयाँसहित स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८३ सुरक्षा भट्टराईलाई प्रदान गरियो । यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार – २०८३ बाट २५ हजार रुपैयाँसहित मिलन ढुंगानालाई पुरस्कुत गरियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त थापा बित्यासीलगायतले पनि कार्यक्रममा चलचित्र पत्रकारहरुलाई शुभकामना दिए ।
संघका अध्यक्ष समिर बलामीले समारोहमा चलचित्र पत्रकारिता दिवस आयोजनाको उदेश्यबारे प्रकाश पार्दै पुरस्कृतहरुलाई बधाई ज्ञापन गरे ।
यस्तै अभिनेता राजेश हमाल, निखिल उप्रेती, पल शाहले कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र पत्रकारिता दिवसको शुभकामना व्यक्त गरे । अभिनेत्रीहरु वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, करिश्मा मानन्धर, रेखा थापा, सुरक्षा पन्त, कलाकार जितु नेपाललगायतले कार्यक्रममा सम्मानित एवम् पुरस्कुत पत्रकारहरुलाई बधाई ज्ञापन गरे ।
तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल





