काठमाडौं(रासस) । यस वर्षको ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत पुरस्कार’ वरिष्ठ साहित्यकार तथा नाट्यनिर्देशक श्यामदास वैष्णव र वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार १ सय ११ रहेको छ । विसं १९८१ मा जन्मिएका वैष्णवको पाँचवटा कविता संग्रह प्रकाशित भइसकेको छ भने नाट्य निर्देशक तथा अभिनेताको रुपमा पनि उनी परिचित छन् । थुप्रै गीत रेकर्ड गरिसकेका वैष्णवले धेरै वर्ष सम्पादकको रुपमा पनि कार्य गरिसकेका छन् । उनी शुभराज्याभिषेक पदक, महेन्द्र प्रज्ञा पुरस्कारका साथै गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइसकेका छन् ।

विशिष्ट गायक वैद्यले ६ दशक लामो सांगीतिक यात्रामा थुप्रै भावुक, मार्मिक तथा राष्ट्रिय गीत तथा भजन गाएका छन् । वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका वैद्यले खाद्य अनुसन्धान अधिकृतका रुपमा पनि सेवा गरिसकेका छन् । उनले नेपाल भाषाको पनि गीत गाएका छन् । ‘हरिप्रसाद कल्याणी रिमाल संचार सेवा सम्मान’बाट पुरस्कृत भएका वरिष्ठ गीतकार किरण खरेलले विसं २०१४ सालदेखि गीत रचना गरेका हुन् । सर्वोकृष्ट गीतकारका रुपमा परिचित खरेलको गीतिसंग्रह प्रकाशित छन् भने उहाँको १०० भन्दा बढी गीत फिल्ममा प्रयोग भईसकेको छ ।

लामो समय रेडियो नेपालको समाचारवाचक भई सेवानिवृत्त वरिष्ठ सञ्चारकर्मी प्रचण्डमान सिंहले प्रधानसम्पादक तथा रेडियो नेपालको कार्यकारी प्रमुख भई सेवा गरिसकेका छन् । उनीहरुले जनही १५ हजार १ सय ११ तथा सम्मान पत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले हरिप्रसाद रिमाल कला क्षेत्रका एक संस्था भइसके को बताउँदै कला क्षेत्रको विकासका लागि लामो समय अर्पण गरेको चर्चा गरे ।