ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ जेठ
थुप्रै म्युजिक भिडियोमा सँगै काम गरेर राम्रो जोडीको रुपमा चर्चा कमाएका अभिनेता पल शाह र अभिनेत्री मलिका महत यति बेला नयाँ चलचित्र ‘आ बाट आमा २’मा जोडी बनेको छन् । यसै साताबाट छायांकनमा जाने यो चलचित्रमा निर्देशक चन्द्र पन्तले अभिनेत्रीका रुपमा मलिका महतलाई आइतबार अनुबन्धित गरेका हुन् ।
मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै नायिकाको चयन सकिएको छ । यसअघि यसमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। ‘आ बाट आमा २’मा पल शाह,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। यो फिल्म आगामी दसैंमा अर्थात अशोज ३० गतेबाट प्रदर्शनमा आउने छ। यो फिल्मको घोषणा हुँदै गर्दा केहि देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ। अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको निर्माण पक्षले जानकारी दिएको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ।
नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो। उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिदै सिक्वेल निर्माणको घोषणा गरेका हुन् ।




