ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ जेठ
आदिवासी जनजाति चलचित्र महासंघले ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ मा यसपटक १३ वटा चलचित्र चयन भएका छन् । यो महोत्सव आगामी १७ जेठ आइतबारबाट काठमाडौँमा आयोजना गर्ने भएको छ । महोत्सव १७ बाट १९ जेठसम्म तीन दिन काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ ।
काठमाडौँमा पत्रकार भेटघाट आयोजना गरेर महोत्सवबारे जानकारी गराईयो । महोत्सव निर्देशक सागर केरुङले पत्रकार भेटघाटमा जानकारी अनुसार महोत्सवमा नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, लिम्बू, माझी तथा राजवंशी समुदायका चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।
महोत्सवमा यस पटक दिनेश लिङदेन निर्देशित लिम्बु चलचित्र ‘रीत’, अमृतमान महर्जन निर्देशित नेपाल भाषाको चलचित्र ‘स्वयनगु’, जनक गुरुङ निर्देशित गुरुङ भाषाको चलचित्र ‘ङोल्स्यो रामरानी’, निमा लामा तामाङ निर्देशित तामाङ भाषाको चलचित्र ‘ह्याङ तामाङ’, परशुराम चौधरी निर्देशित थारु भाषाको चलचित्र ‘जाइछै सौसरा’ तथा अशोक आले मगर निर्देशित मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ प्रदर्शन गरिनेछ । यो सबै फिचर चलचित्र हुन् ।
यस्तै लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित लिम्बु भाषाको ‘तङसिङ’, हुत बहादुर तामाङ निर्देशित तामाङ भाषाको ‘दुखला ग्यम’, बिपना तामाङ भुजेल निर्देशित तामाङ संस्कृति समेटिएको ‘निको पहिचान’ एवम् विशाल रोक्का मगर निर्देशित मगर संस्कृतिमा केन्द्रित लघु चलचित्र ‘लाहुरेनी’ महोत्सवमा प्रदर्शन हुँदै छन् ।
त्यसै गरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होम कुमारी माझी निर्देशित ‘लदि पूजा’ र अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘विराटनगर के प्राचीन राजवंशी’ पनि यो महोत्सवमा प्रदर्शन गरिने छ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकनमा पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने भएको छ ।





