नायक नायिका फेरेको पाँच दिनमै गोपि शुरु


व्युटी न्युज नेपाल
काठमाडौं, ३ भाद्र

चलचित्र ‘गोपि’ को छायांकन आईतबारबाट काठमाडौंदेखि सुरु भएको छ । दिपेन्द्र लामाको निर्देशनमा यो चलचित्रको छायाँकन सुरु भएको हो ।

छायाँकन स्थलमै सामान्य पुजा गरेर यो चलचित्रको सुटिङ सुरु गरिएको हो । यस अघि घामपानी चलचित्र निर्देशन गरिसकेका दीपेन्द्रले यो दोस्रो चलचित्र निर्देशन सुरु गरेका हुन् ।

चलचित्र गोपिमा विपिन कार्मी, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, रमेश अधिकारी, सरोज अर्यालआदि कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको छायाँकन सुरु हुन पाँच दिन अघि मुख्य कलाकार परिवर्तन भएका हुन् । पाँच दिन अघि अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिबाकोटीले गोपि छाडेका थिए । लगत्तै अभिनेता बिपिन कार्की र अभिनेत्री वर्षा राउतलाई उनीहरुको ठाउँमा अनुबन्धित गरिएको हो ।

यो चलचित्रलाई मणिकरण केसीले निर्माण गरेका हुन् । गोपिमा श्रीधर पौडेल कार्यकारी निर्माता छन् । यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा सम्बाद रहेको छ ।
यसमा शैलेन्द्र डि कार्कीको छायाँकन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको निर्देशक लामाले जानकारी गराए । यो चलचित्रलाई आगामी १५ चैतमा रिलिज गरिने छ ।