’मालती मंगले’को ट्रेलरमा प्रेम, खटपट र सामाजिक यथार्थ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ बैशाख

ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा आयोजित एक समारोहबीच चलचित्रको ट्रेलर सार्वजनिक गरियो। कार्यक्रममा मुख्य कलाकार विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसहित निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय र अन्य टिम सदस्यहरूको उपस्थिति थियो।

आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’ले पारिवारिक र सामाजिक यथार्थलाई केन्द्रमा राख्दै दर्शकमाझ आउने तयारी गरेको छ। आरआर फिल्म्सको वितरणमा रिलिज हुने यस चलचित्रले पूर्ण मनोरञ्जन दिन सक्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको कथा निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका छन्।

चलचित्रको प्राविधिक पक्ष पनि मजबुत देखिन्छ। महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रणले फिल्मलाई अझ आकर्षक बनाएको छ। कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह–निर्माताका रूपमा आबद्ध छन्।

 सार्वजनिक ट्रेलरले ‘मालती मंगले’लाई प्रेम, सम्बन्धमा आउने उतारचढाव र पारिवारिक खटपटको कथा बोकेको फिल्मका रूपमा प्रस्तुत गरेको छ। वर्षा राउत (मालती) र विजय बराल (मंगले) बीचको प्रेम, त्यसमा आउने दरार तथा सामाजिक दबाबलाई ट्रेलरमा प्रभावशाली रूपमा देखाइएको छ। मेक्सम गौडेलले हरि नामक नकारात्मक भूमिकामा देखिँदै कथालाई थप रोचक बनाएका छन्।

ट्रेलरमा समावेश ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादले समाजमा इज्जत र प्रतिष्ठाको दबाबलाई मार्मिक ढंगले उजागर गरेको छ। साथै, ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ जस्ता गीतका झलकहरूले पनि दर्शकको ध्यान खिच्ने काम गरेका छन्। यसअघि नै ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र ‘झ्याम पारम’ गीतहरू सार्वजनिक भइसकेका छन्।