ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ वैशाख
अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माण पक्ष र वितरकबीचको सहमतिअनुसार यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो। यसअघि तीजको अवसरमा रिलिज गर्ने तयारी भए पनि निश्चित मिति तय गरिएको थिएन। पछिल्लो छलफलपछि तीज र कुशे औंसीलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरिएको जनाइएको छ।
चलचित्रको वितरण जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्। रेखा थापाले करिब ८ वर्षपछि निर्देशनमा पुनरागमन गर्दै यस चलचित्रलाई आफ्नो तेस्रो निर्देशकीय कृतिका रूपमा प्रस्तुत गरेकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन्। विशेष कुरा, यसपटक उनी आफ्नै ब्यानरभन्दा बाहिर ‘दिया एण्ड अमु फिल्मस्’ मार्फत काम गरिरहेकी छन्।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् भने उषा खड्गी विशेष भूमिकामा देखिनेछिन्। यसरी चलचित्रमा एकैसाथ चार मिस नेपालहरूको उपस्थिति रहेको छ। साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी लगायतका कलाकारहरूको पनि अभिनय छ।यस चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।
चैत्र २८ गते छायांकन सम्पन्न भएको चलचित्र हाल पोस्ट–प्रोडक्सनमा छ। ध्रुव लम्सालको पटकथा रहेको यस चलचित्रले प्रेमकथामार्फत सामाजिक परिवेश प्रस्तुत गर्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ।




