कुपिण्डे दहको किनारमा चार चलचित्रकर्मीसँग चलचित्र बहस


तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

ब्युटी न्युज नेपाल
सल्यान, १४ वैशाख

सल्यानस्थित रमणीय पर्यटकीय गन्तव्य कुपिण्डे दह यतिबेला चलचित्रकर्मीहरूको आकर्षक केन्द्र बनेको छ। तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत दोस्रो दिनको कार्यक्रम कुपिण्डे दहको किनारमा भव्य रूपमा सम्पन्न हुँदै कला, संस्कृति र पर्यटनको संगम प्रस्तुत गरेको हो। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले कर्णाली क्षेत्रको सम्भावनालाई चलचित्रमार्फत विश्वसामु पुर्‍याउने लक्ष्य राखेको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य रमेश मल्लको प्रमुख आतिथ्य रहेको थियो भने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वन, वातावरण तथा उद्योग–पर्यटन मन्त्री सुरेश अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरको छायांकन केन्द्रका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

स्थानीय तहले पनि चलचित्र छायांकनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले आफ्नो क्षेत्रमा आउने चलचित्रकर्मीलाई पूर्ण सहयोग र सुरक्षा प्रदान गरिने बताए। साथै प्रदेश सरकारले छायांकनका लागि विशेष सहुलियत दिने नीति अघि सारेको जानकारी दिइयो। महोत्सवमा सहभागी निर्माता, निर्देशक र लेखकहरूले कर्णालीको प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैली चलचित्रका लागि उपयुक्त विषय भएको बताएका छन्।

महोत्सवमा बोर्ड अध्यक्ष दिनेश डिसी सहित चलचित्रकर्मीहरू सन्तोष सेन, विकास सुवेदी र प्रेम पुरी गरी चार चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।