सामाजिक जिम्मेवारीका रूपमा ‘लालीबजार’ निर्माण गरिएको हो – रवीन्द्रसिंह बानियाँ


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ बैशाख

सामाजिक यथार्थमा आधारित फरक धारको फिल्म ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। केही व्यक्तिहरुले यति बेला बादी समुदायको केही सोझा व्यक्तिलाई उचालेर चलचित्र रोक्ने कोशिस पनि गरेका छन् । तर चलचित्रलाई रोक्ने या रिलिज गर्न दिने भन्ने अधिकार सेन्सर बोर्डमा निहित रहेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्।

निर्माण पक्षले फिल्मले दर्शकको ध्यान खिच्ने विश्वास व्यक्त गरेको छ। पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक पृष्ठभूमिसँगै समाजका गहिरा पाटा उजागर गर्ने प्रयास गरेको जनाइएको छ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्। प्राविधिक पक्षमा पनि फिल्म सशक्त देखिन्छ, जसमा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक तथा अन्य अनुभवी टिमको योगदान रहेको छ।

फिल्म ‘लालीबजार’ पश्चिम नेपालको बादी समुदायको कथा र उनीहरूले भोगेका सामाजिक, आर्थिक तथा सांस्कृतिक पीडामा आधारित पिरियड फिल्म हो। विसं २०४३ देखि २०५८ सम्मको समयावधिलाई समेटिएको यस फिल्मले तत्कालीन समाजमा रहेको असमानता, सत्ताको दुरुपयोग र कमजोर वर्गमाथि भएका अन्यायलाई चित्रण गरेको छ। कथामा विशेषगरी ‘नथी’ जस्ता परम्परागत अभ्यासमार्फत महिलामाथि हुने नियन्त्रण र शोषणलाई देखाइएको छ।

कथाको केन्द्रमा एक आमाले आफ्नी छोरीलाई दमनकारी परिवेशबाट जोगाउन गरेको संघर्ष रहेको छ। यही कथालाई लिएर अभिनेता रवीन्द्रसिंह बानियाँले फिल्म केवल मनोरञ्जनका लागि नभई सामाजिक जिम्मेवारीका रूपमा निर्माण गरिएको बताएका छन्। उनका अनुसार फिल्मले त्यो समयको जटिल सामाजिक संरचना र कमजोर समुदायमाथि हुने दबाबलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको छ।

उनले फिल्ममार्फत पीडित समुदायप्रति सम्मान व्यक्त गर्ने प्रयास गरिएको उल्लेख गर्दै निर्माण टिमले विभिन्न स्थानमा पुगेर अध्ययन, अनुसन्धान तथा स्थानीयसँग अन्तरक्रिया गरेर कथा तयार पारेको जानकारी दिए। अघिल्ला फिल्महरूभन्दा यसपटक गम्भीर र संवेदनशील विषय रोजिएको उनको भनाइ छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण गरिएको ‘लालीबजार’को ट्रेलर सार्वजनिक भइसकेको छ। सामाजिक सन्देश बोकेको यस फिल्मले दर्शकमाझ फरक स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।