रोचक बन्दै वेबसिरिज ‘साहु बा’, ३८० कलाकारको अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ वैशाख

म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेभसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको कथावस्तु र प्रस्तुतीकरणबारे व्यापक चर्चा सुरु भएको छ। म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत साप्ताहिक रूपमा प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन्, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

क्राइम, एक्सन र बदला केन्द्रित कथावस्तुमा आधारित ‘साहु बा’ ले आफ्नो भव्य क्यानभास र सिनेम्याटिक प्रस्तुतीकरणका कारण दर्शकको ध्यान आकर्षित गर्न सफल भएको छ। विशेषगरी यस सिरिजको सबैभन्दा चर्चित पक्ष भनेको यसमा सहभागी कलाकारहरूको ठूलो संख्या हो। नेपाली वेभसिरिजको इतिहासमै सम्भवतः पहिलो पटक ३८० भन्दा बढी कलाकारले अभिनय गरेको दाबी गरिएको छ।

सिरिजमा प्रियंका कार्की, नम्रता श्रेष्ठ, विजु पार्की, कविता नेपाली, सरिता गिरीलगायत स्थापित कलाकारहरूको अभिनय रहेको छ। मुख्य पात्रका रूपमा विजु पार्की प्रस्तुत भएका छन्, जसलाई बदलाको भावनाले प्रेरित पात्रका रूपमा चित्रण गरिएको छ। प्रारम्भिक एपिसोडहरूमा सीमापार हुने अवैध कारोबार, सस्पेन्सपूर्ण दुर्घटना र रहस्यमय घटनाक्रमले कथालाई रोचक बनाएका छन्।

निर्देशक तथा लेखक सुजोय योङले निर्माण गरेको यस सिरिज तयार पार्न करिब तीन वर्ष लागेको बताइएको छ। २४ एपिसोड रहने ‘साहु बा’ प्रत्येक साता साँझ ६ बजेपछि युट्युबमा सार्वजनिक हुँदै आएको छ भने सम्पूर्ण भागहरू मोमो एपमा पनि उपलब्ध छन्।