ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ बैशाख
अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको चलचित्र ‘आइ एम जीत बहादुर’ आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति घोषणा गरेको हो। यसअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाएको जनाइएको छ।
चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ, जसले कथालाई थप आकर्षक बनाउने विश्वास निर्माण पक्षले लिएको छ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा तयार भएको फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा देखिनेछन् भने उनकी जोडीका रूपमा वर्षा राउत रहनेछिन्।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा आबद्ध छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको जानकारी दिइएको छ। वितरणको जिम्मा आरआर फिल्म्सले लिएको ‘आइ एम जीत बहादुर’को डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।




