ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ वैशाख
षट्कोण आट्र्सको नयाँ चलचित्र ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको कम्पनीले यसपटक सामाजिक विषयवस्तुमा आधारित फरक कथा लिएर आएको जनाएको छ ।
चलचित्रमा रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापा, विशाल देवकोटा र प्रशंसा सुवेदीको पनि अभिनय रहेको छ । विशाल र प्रशंसा दुवैका लागि यो डेब्यु चलचित्र हो । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । उनले ‘मधुवाला’ नामक बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन् । स्वस्तिमाले यो चलचित्र आफ्नो अभिनय यात्राको टर्निङ प्वाइन्ट बन्ने विश्वास व्यक्त गरेकी छन् । अभिनय क्षेत्रमा एक दशक बितेपछि पहिलोपटक अडिसन दिएर यो भूमिकामा छनोट भएको उनले बताइन् । पात्रलाई बुझ्न आफू बर्दिया पुगेर अनुसन्धान गरेको पनि उनको भनाइ छ ।
चलचित्रको कथा निर्देशक यम थापाले लेखेका हुन् भने पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका छन् । प्रदीप भट्टराईले यसअघिका अधिकांश चलचित्र निर्देशन गरे पनि यसपटक निर्देशनको जिम्मेवारी यम थापालाई दिइएको छ । बर्दियासँग निकट सम्बन्ध र कथाको पृष्ठभूमिमा गहिरो ज्ञान भएकाले उनलाई जिम्मा दिइएको निर्माण टिमको भनाइ छ ।

चलचित्रको कथा बादी समुदायको परिवेशमा आधारित भएकाले टोलीले बर्दिया पुगेर विस्तृत अनुसन्धान गरेको जनाएको छ । निर्माण पक्षका अनुसार चलचित्रले समुदायको पीडा, संघर्ष र यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ ।
निर्माता म्याक्स दीपेश खत्रीका अनुसार ‘लालीबजार’ विषयवस्तुको हिसाबले षट्कोण आट्र्सका अहिलेसम्मकै उत्कृष्ट चलचित्रमध्ये एक हो । उनले यसपटक आमा र छोरीको सम्बन्ध, संघर्ष र ममताको कथा दर्शकमाझ ल्याइएको बताए । यसअघि ‘महापुरुष’ मा बुवा–छोराको कथा प्रस्तुत गरिएको थियो ।
सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ सहित ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ दर्शकमाझ लोकप्रिय बनेका छन् । ट्रेलर र पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता बढेको निर्माण पक्षले जनाएको छ ।



