अस्मिता र महेन्द्रलाई ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ बैशाख

मोडल अफ द इयरको उपाधि अस्मिता खत्री तथा महेन्द्र मल्लले पहिलो सीजनको ‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ मा जितेका छन् । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न ग्राण्ड फिनालेमा अस्मिता खत्रीले युवतीतर्फ तथा महेन्द्र मल्लले युवकतर्फ उपाधि जितेका हुन् ।

यो प्रतियोगितामा सुधा कार्कीले अर्गनाइजर च्वाइस अवार्ड जित्न सफल भएकी छिन् । त्यस्तै अभि श्रेष्ठले पब्लिक भ्युअर्स च्वाइस अवार्डको उपाधि जितेका छन् । विभिन्न चरणको अडिसनबाट छनोट भएका एक दर्जन बढी प्रतिस्पर्धिहरुले ग्राण्ड फिनालेमा विभिन्न डिजाइनरहरुले तयार पारेका उत्कृष्ट पहिरनहरु प्रदर्शन गरेका थिए ।

ड्रिमस्केप प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगिताको ग्राण्ड फिनालेको निर्णायकमा मिस नेपाल उषा खड्गी, सञ्चारकर्मी अरुणा भट्टराई, वरिष्ठ दन्त चिकित्सक तथा मिसेस भोग नेपाल डा।सुमि मल्ल, एनके शरद तथा मेकअप आर्टिष्ट मोमेन्ट शाह कार्की रहेका थिए ।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसहित सञ्चालन भएको यो प्रतियोगिताको कोरियोग्राफी आयोजक संस्थाकी प्रमुख इभा क्षेत्रीले गरेकी थिइन् । यो प्रतिस्पर्धामा नेपालका विभिन्न जातजाति, परम्परा, भाषा–भाषि तथा भेषभूषालाई प्रतिनिधित्व गर्ने फेसन डिजाइनर तथा मोडलहरुलाई सहभागिता गराइएको थियो ।