पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव, काठमाडौँमा प्रि–इभेन्ट, सर्लाहीमा महोत्सव


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ बैशाख

पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाख १५ देखि १७ गतेसम्म सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा सञ्चालन हुने भएको छ। भोलीबाट उक्त महोत्सव आयोजना गर्न चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाबीच सहकार्य रहेको छ। ‘हिमाल, पहाड, तराई—कोही छैन पराई’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवले यसपटक पहिलोपटक तराई क्षेत्रमा पाइला टेक्दै नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

महोत्सवअघि राजधानी काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभा हलमा प्रि–इभेन्ट सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा अफिसियल सेलेक्सनमा परेका १७ वटा चलचित्रलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी लगायतका चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ग्रामीण कथा र मधेशी संस्कृतिमा आधारित चलचित्र प्रवर्द्धन गर्ने उद्देश्यले सर्लाहीमा महोत्सव आयोजना गरिएको बताए। उनका अनुसार यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सफलतापूर्वक महोत्सव सम्पन्न भइसकेका छन्।

महोत्सवका लागि ५० भन्दा बढी फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका चलचित्र आवेदन परेका थिए, जसमध्ये १७ वटा चलचित्र छनोट गरिएको हो। प्रदर्शन हुने सबै चलचित्र दर्शकले निःशुल्क रूपमा अवलोकन गर्न पाउनेछन्। फिचर फिल्मतर्फ ‘सिटामोल’, ‘कोशेढुंगा’, ‘माइतीघर’, ‘मोहर’ र ‘गुन्युचोलो’ छनोटमा परेका छन्। अफिसियल सेलेक्सनमा परेका चलचित्र टोलीहरूले प्रि–इभेन्टमै प्रमाणपत्र ग्रहण गरेका थिए।

नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउने, नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्ने, ग्रामीण कथामा आधारित चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो पहिचान र प्रतिष्ठा अझ मजबुत बनाएको अध्यक्ष सापकोटाको दाबी छ।