काठमाडौं । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ । श्रीपञ्चमीका अवसरमा कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् ।

गुरुकुलको सहयोगका लागि सामाजिक विषयवस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको शुरुवात गर्दै भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले लोपोन्मुख भाषाको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । आयोगले भाषा सुधारका लागि काम गरिरहेको उनले जानकारी दिए ।

जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले कुनै पनि कृतिलाई पढ्नभन्दा अभिनयका माध्यमबाट रंगमञ्चमा हेर्दा त्यसको सन्देश बुझिने विचार राखे । गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

नाटक मंगलबारसम्म सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सह प्रा डा श्रीराम अधिकारीले जानकारी दिए । गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा तयार पारिएको रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको हो ।

नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व तोयनाथ पाण्डेयले लेखेका हुन् । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गरेका डा घनश्याम खतिवडाले गरेका हुन् ।