शिल्पीमा राजेन्द्र लक्ष्मीको समापन


काठमाडौं । ख्वापा नाट्य समूहले शिल्पी नाटकघरमा मञ्चन गरेको नाटक ‘राजेन्द्र लक्ष्मी’को समापन भएको छ । पुष २५ गतेदेखि मञ्चन भएको नाटक गत माघ २ गते सकिएको हो । प्रचण्ड मल्लद्वारा लिखित नाटकलाई प्रदिप खड्गी पासाले निर्देशन गरेका हुन् ।

पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानलाई नायवी राजेन्द्र लक्ष्मीले निरन्तरता दिएकी थिइन । उनले लमजुङ, तनहँु, गोरखा आक्रमण गरेको इतिहासलाई नाटकमा देखाइएको थियो । नारी कमजोर हुँदैनन् भन्ने भाव नाटकले देखाउन खोजेको निर्देशक पासाले बताए ।

मल्लका अनुसार यो नाटक स्वर्गीय राजा वीरेन्द्रले २०५८ सालमा हाल रहेको संसदीय भवनमा हेरेका थिए । जसबेला लेखक प्रचण्डले नै निर्देशन गरि उक्त नाटक मञ्चन गरेका थिए । वीरेन्द्रले हेरेको यो अन्तिम नाटक हो ।

यो नाटकमा मूख्य भूमिका अर्थात राजेन्द्र लक्ष्मीको भूमिकामा एना देउजा छिन् । अन्य कलाकारमा हेमन तन्डुकार ,अर्जुन बोहोरा, सुरज सुबेदी, दिलिप बिष्ट, सञ्जय माली, सुरेन्द्र कटवाल, लेविदत्त थापा, अस्मिता पौडेल, दिपेश काफ्ले, केशव सिंह ठगुना, आयुष प्याकुरेल, महेश पौडेल, किरण चापागाई, युनिषा गुरुङ, रोहित खत्री, अनिषा कोइराला, म्राटिना दिक्रुज र विनोद पौडेल छन् ।