ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ मंसिर
अष्ट्रेलियामा बिगत डेढ दशकदेखि बस्दै आएका सुरज पौडेल मोडल हुन् । मोडलिङसँगै उनी नेपाली ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछन् । उनको यो चलचित्र यही शुक्रबार २६ मंसिरबाट देशभर प्रदर्शनमा आउन लागेको छ । यो चलचित्रमा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबलाई कथाका माध्यमबाट प्रस्तुत गरेको छ । यो चलचित्रको प्रचार र प्रिमियरको लागि उनी यति बेला नेपालमा छन् । अभिनेता पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिनुको कारणदेखि लिएर विदेशको व्यस्तताबीच सुटिङ गर्ने अनुभवसम्म ब्युटी न्युज नेपाललाई खुलेर बताए । यिनै नव अभिनेतासँग गरिएको विस्तृत कुराकानी यहाँ प्रस्तुत छ —
डेब्यु चलचित्र पिआरमा काम कत्तिको सहज भयो ?
जीवनमा कुनै पनि कुरा पुरै सहज हुँदैन। तर शोभित बस्नेतजस्तो अनुभवी निर्देशकसँग काम गर्दा धेरै सहज भयो। उहाँले फिल्म क्षेत्रमा कमाएको अनुभवका आधारमा हामीलाई सहज वातावरण दिनुभयो। अरु कसैसँग भएको भए यति सहज हुने जस्तो लाग्दैन । अर्को तर्फ लामो समय मोडलिङ गरेको अनुभवले पनि पिआरमा काम गर्न सजिलो भयो ।
तपाइँ नेपाली चलचित्र पिआरमा कसरी जोडिनुभयो ?
अष्ट्रेलियामा शोभित बस्नेत सरले यस फिल्मका लागि अडिसन लिइरहनुभएको थियो। उहाँकी छोरी सलिना बस्नेतले मलाई म्यासेज गरेर अडिसन भइरहेको बताइन् र सहभागी हुन सुझाव दिइन्। अभिनय गर्ने मन त पहिलेदेखि नै थियो, त्यसैले अडिसन दिएँ र चयन भएँ।
सलिना बस्नेतसँग तपाईँको चिनजान कहिले भएको थियो ?
हाम्रो भेट सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोको दौरान भएको हो। त्यहीँबाट हामी राम्रो साथी बनेका हौँ। पछि उहाँले नै अडिसनबारे जानकारी दिइन्।
पिआरको लागि अडिसनमै जानुभयो कि शोभित बस्नेतसँग पनि पहिल्यै कुरा गर्नुभयो ?
सलिनाबाट थाहा पाएपछि मैले शोभित सरलाई म्यासेज गरी अडिसनको स्थान र समयबारे सोधेँ। उहाँले बोलाउनु भयो । वान–लाइन अडिसनपछि उहाँले “के छ त तिम्रो बिचार?” भनेर सोध्नु भयो। अष्ट्रेलियामा समय व्यवस्थापनको कुरा मनमा थियो, तर उहाँले “अतालिनु पर्दैन, स्क्रिप्ट पढ अनि निर्णय गर” भन्नु भयो। उहाँको सुझावले धेरै आत्मविश्वास दिलायो ।
निर्देशक शोभितले सो क्रममा के के भन्नुभएको थियो ?
शोभित सरले “तिमीले स्क्रिप्ट पढिसकेपछि फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास आउनेछ ।” भन्नु भयो । त्यसरी नै रातमै स्क्रिप्ट पठाइदिनुभयो। पढेपछि क्यास्टमा जोडिनुपर्ने नै लाग्यो। कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ, अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ ।
स्क्रिप्ट मन परिनुको मुख्य कारण के हो ?
स्क्रिप्टमा समाजमा सन्देश दिने गहिरो कन्टेन्ट छ। अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता कथामा छर्लङ्ग देखिन्छ। यो विषय बोलिनै पर्ने लागेर फिल्ममा जोडिने निर्णय गरेँ।
यो चलचित्रको लागि गर्नु भएको अभिनय वर्कसप कत्तिको प्रभावकारी भयो ?
डेढ महिनाजति वर्कसप गरेर मात्रै फ्लोरमा गएका हौँ। वर्कसपले क्यारेक्टरमा बस्न, संवाद बुझेको अनुसार प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गर्यो।
अष्ट्रेलियाको व्यस्त दिनचर्यामध्ये सुटिङका लागि समय निकाल्न कति चुनौतीपूर्ण भयो ?
इच्छा भए सबै सम्भव हुन्छ भन्छन्। मेरा लागि पनि त्यही भयो। त्यो समयमा पढाइ, काम, मोडलिङ, क्रिकेट—सबै चलिरहेको थियो । शोभित सरले सबै कलाकारको समय हेरेर सुटिङ तालिका मिलाइदिएकाले सुटिङ गर्न धेरै सहज भयो ।
यसअघि अभिनय तालिम लिइसक्नुभएको थियो ?
हो, दुई–तीनवटा वर्कसप गरिसकेको थिएँ। अभिनय क्लास पनि लिइरहेको थिएँ। आधारभूत कुरा सिकिसकेकाले फिल्ममा अभिनय गर्न धेरै सहज भयो।
अन्त्यमा—अभिनयमा निरन्तरता दिन चाहनुहुन्छ कि अष्ट्रेलिया फर्कने योजना छ ?
अष्ट्रेलियामा भए पनि काम आयो भने नेपाल आउन मलाई समस्या हुँदैन। ‘पीआर’ का हुँदा म नेपाल आएर काम गरेर फर्किएको हुँ।
यसो भन्दै भन्न चाहन्छु—‘पीआर’ पछि पनि दर्शकले मलाई अन्य फिल्महरूमा देख्न पाउनुहुनेछ।


