ब्युटी न्युज नेपाल
काठमाडौँ, २० वैशाख
अनिल योञ्जनको निर्माण तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शनमा आउने भएको छ। काठमाडौँ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस फिल्मलाई वितरक तथा प्रदर्शकसँगको सल्लाहअनुसार असोजमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले बताएका छन्। हाल फिल्मको प्राविधिक कार्य अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
निर्देशकका अनुसार ‘कुस्ती’ प्रेम, भावनात्मक उतारचढाव र मानवीय सम्बन्धको कथा हो, जहाँ एकअर्कासँग टाढा रहन नसक्ने तर सँगै बस्न पनि कठिनाइ हुने जोडीको संघर्ष देखाइएको छ। प्रेमकथामा आधारित यो फिल्म हास्यरस मिसिएको कमेडी–ड्रामा विधामा निर्माण गरिएको छ।
फिल्ममा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत दिकिला शेर्पाले नेपाली सिनेमामा डेब्यु गरेकी छन्। उनी ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ उपाधि जित्दै टप १५ मा परेकी थिइन् भने ‘मिस टिन फेसन आइकन २०२१’ की विजेता पनि हुन्।
फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनका लागि समेत पहल भइरहेको छ र केही देशमा वितरण अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा पुगेको निर्देशकले बताए। प्राविधिक पक्षमा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन तथा दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको सङ्गीत रहेको छ। ‘कुस्ती’ लाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन्।





