ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ बैशाख
चलचित्र ‘बा स् एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार यो फिल्म आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउनेछ। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज गरिने योजना अनुसार वितरकहरूसँग सहमति भइसकेको जनाइएको छ।
झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त मुख्य भूमिकामा देखिने यस फिल्ममा झरना र सुहाना पहिलोपटक आमाछोरीकै भूमिकामा एकसाथ अभिनय गर्दैछन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म भिजुअल रूपमा पनि सशक्त हुने अपेक्षा गरिएको छ।
चर्चित संगीतकार हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा, पटकथा, संगीत तथा गायन स्वयं लम्सालले तयार पारेका छन्। नेपाली संगीत क्षेत्रमा स्थापित पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता कस्तो रहनेछ भन्ने विषयमा दर्शकबीच उत्सुकता देखिएको छ।
फिल्मका निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपिन कार्कीसँग ‘कर्मा’ निर्माण गरिसकेका छन्। ‘बा स् एक योद्धा’ ले नेपाली समाजमा बुवाको भूमिका, त्याग, संघर्ष र जिम्मेवारीलाई भावनात्मक ढंगले प्रस्तुत गर्ने लक्ष्य राखेको छ।




