पुजार सार्कीको दोश्रो गीत ‘रिमै’मा कलाकारको सम्बन्ध प्रस्तुत


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ बैशाख

नेपाली चलचित्र ’पुजार सार्की’को दोस्रो गीत ‘रिमै’को भिडियो मँगलबार दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिए छ । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्।आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने यो चलचित्रको पहिलो गीत दर्शन गरेँ गत साता रिलिज गरिएको थियो ।

यो दोश्रो गीतमा यसपटक पात्रहरुको सम्बन्धलाई थोरै भए पनि दर्शाउन खोजिएको छ । रिमै गीतमा दिनेश राउतका शब्द र सुवास भुसालको सङ्गीत रहेको छ भने देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ ।

यो गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली त्यसै गरी मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम, दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ ।

यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ । तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ। निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। ’प्रसाद’, ’क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’मा सहकार्य गरेका थिए।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।