मिलनको कर्ना बिमोचित


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

साहित्यकार मिलन शाहशंकरले आफ्नो नयाँ उपन्यास ‘कर्ना’ बजारमा ल्याएका छन् । उनको यो पुस्तकलाई काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा एक विशेष समारोहबीच प्राडा.इतिहासविद सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि केसी वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, महाकाव्यकार खेमनाथ दाहाल, लेखककी आमा कमला शाह शंकर, साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ संगीतकार राजु सिंह, रेडियो नेपालका बोर्ड सदस्य तथा गायक सीताराम पोख्रेल, कृतिका सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गरे । सो अवरमा अनावरण प्रमुख अतिथि तथा अतिथिहरूबाट आमा कमला फाउण्डेशनको पनि अनावरण गरियो । यो फाउण्डेशन स्रष्टा शाह–शंकरले आफ्नी आमा कमलाका नाममा स्थापना गरेका हुन् ।

सो अवसरमा राजुसिंह, सीताराम पोख्रेल, प्रकाशचन्द्र परियार, राजेन्द्र रिमाल, कमला डिसी, दीपेन्द्र सिंह दर्नाल, जितबहादुर राउत, सन्तोष श्रेष्ठ, घनेन्द्र ओझालगायतले स्रष्टा शाह–शंकरलाई बधाई तथा शुभकामना दिए ।

स्रष्टा शाह–शंकरले विविध कारणबस यो कृति पाठकमाझ आउन दश वर्ष लागेको बताउँदै आफ्ना पहिलाका कृतिभन्दा फरक ढंगले प्रस्तुत भएको जनाए । महाकाव्यकार तथा कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले साच्चैकै राम्रो कृति कर्ना रहेको बताउँदै कर्नाले उठाउन खोजेको विषय वस्तुमाथि प्रकाश पारे । पुस्तकको समीक्षा गर्दै प्रा.पुरुषोत्तम दाहालले दश वर्षे सशस्त्र हिंसाले धेरै घाउहरू दिएको बताउँदै यस कृतिमा पनि त्यसले समाजमा निम्ताएको घटनालाई उजागर गरेको बताए ।

मिलाप पब्लिकेशनका अध्यक्ष एवं पत्रकार कृष्ण भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्राडा.केसीले माओवादी सशत्र द्वन्द्वले अनेक पीडा र घाउ दिएको बताउँदै त्यसैमा आधारित यो कृति पनि रहेको छ भने । उनले देशको वर्तमान राजनीतिक परिस्थितिको चिन्ता गर्दै परिवर्तनले आमजनतामा कुनै उत्साह ल्याउन नसक्नुमा नेतृत्ववर्गका व्यक्तिगत स्वार्थ हावी रहेको जिकिर गरे ।

प्राडा.केसीले आमा कमला फाउण्डेशनका लागि बधाई तथा शुभकामना दिए । मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गरेका थिए । मिलाप पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको ३६४ पेजको यो कृतिको मूल्य ५९९ राखिएको छ ।