दीपकको काठमाडौंमा कर्णालीको मार्मिक कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, २० चैत

‘छैन बाटा घाटा तम्लाई भेट्न आमभन्या सुवा
मुना मदन मदन जस्तै चोखो मायाँ लाम्भन्या सुवा
चिल्ला गाडी चिल्ला बाटा शहर बजारमा सुवा
हाम्लाई मायाँ गर्ने नेता बिक्या हजारमा सुवा
दैलेखका काफल, जुम्लाका स्याउ
विक्यानन् रे काठमाण्डुमा
पिजा बर्गर बिक्यारे काठमाण्डुमा…’

अहिलेका आम गीत भन्दा फरक शैलीको गीत हो यो । ‘काठमाडौंमा…’ शिर्षकको करिब पाँच मिनटको यो गीतमा बिजुली बत्ति र बाटोघाटो नभएको कर्णालीको दुर्गम बस्तीका एक युवाको प्रेमकथा प्रस्तुत गरिएको छ । यो गीतलाई संगीतकार दीपक शर्माले लेखेको हुन् । हुन त दीपक शर्मा आफैं म्याग्दीको बिकट ग्रामिण भेगका हुन् । अझै बाटोघाटो र बिजुली बत्ति नपुगेको गाउँका दीपकले आफ्नो गाउँ जस्तै कर्णालीका दुर्गम गाउँका बासिन्दाको कथालाई यो गीतमा प्रस्तुत गरेका छन् ।

गीतमा काठमाडौंको सुगमता र कर्णालीको दुर्गमतालाई तुलना गरिएको छ । दैलेखको काफल र जुम्लाको सुन्तला नबिक्ने शहरमा काठमाडौंमा पिजा बर्गर बिक्ने गरेको कुराले पनि दुर्गम र सुगमको अबस्था दर्शाएको छ । मट्टीतेलको पिलिपिली टुकीको भरमा कर्णालीमा बाँचेकाहरुका लागि काठमाडौंको झिलिमिली दैनिक दिपावली झैं लाग्ने गरेको कुरा पनि यो गीतमा उल्लेख छ ।

गीतको शब्द निकै ससक्त छ । संगीत पनि त्यत्तिके मिठो छ । दीपकको संगीतमा गायक तुलसी सिवाकोटीले माधुर्य स्वरबाट न्याय दिएका छन् । गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोलाई मँगलबार काठमाडौंमा बिमोचन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, साहित्यकार रामबाबू सुवेदी ,संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले सयुक्त रुपमा गीतको बिमोचन गरेका हुन् ।

भिडियोमा गायक तुलसी सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको छ । काठमाडौंमा गीतको भिडियोलाई तुलसी सिवाकोटीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा उत्तम हुमागाईंको छायाँकन, माधव बेल्बासेको सम्पादन रहेको छ । गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन्।