‘खजुरे ब्रो’को ट्रेलरमा पैसाको पछिपछि पात्र


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ बैशाख

चलचित्र ‘खजुरे ब्रो’को आईतबार राजधानीमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ । यो ट्रेलरलाई आईतबारबाटै बुढासुब्बा डिजिटलबाट पनि सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरुको आरोह अवरोह प्रस्तुत छ ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई,शान्तिला तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्र कमेडी शैलीमा निर्माण भएको छ । चलचित्रको ट्रेलरमा कमेडीले नै प्राथमिकता पाएको छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । यसले फिल्ममा सहकारीको ठगीको विषय पनि रहेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले नै प्राथमिकता पाएका छन् ।

फिल्ममा खजुरे ब्रोको भूमिका निर्वाह गरेका अभिनेता रेअर राईले आफ्नो भूमिकाले दर्शकलाई राम्रोसँग हँसाउने बताए । फिल्ममा ‘खजुरे’ को चरित्रबाट धेरै कुरो सिक्न र जान्न मिलेको उनको धारणा थियो ।

त्यस्तै अभिनेता महेश त्रिपाठीले फिल्मको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे । फिल्म कर्मसियल रूपमा पनि सफल हुने आफू विश्वस्त रहेको सुनाए ।

अभिनेत्री नीतिले फिल्ममा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिइन् । उनले फिल्मको ट्रेलरमा आफ्नो उपस्थिति धेरै नभए पनि फिल्ममा राम्रो उपस्थिति रहेको बताइन् ।

यसका निर्देशक सुजर सुनुवारले यो चलचित्र दुई तीनवटा विषयबस्तुमा केन्द्रित रहेर निर्माण गरिएको जनाएका छन्,‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन् । त्यसैले एउटै बिषयमा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटा मुख्य बिषय भित्र साना–साना ३ वटा कथा समेत भन्ने प्रयास फिल्ममा गरेको छु’,सुनुवारले भने । फिल्ममा फेन्ससिप, रोमान्स र सामाजिक विषय समेत रहेको सुनुवारले खुलाए । ‘फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण भएको छ । दर्शकले रुचाउने अपेक्षा छ’ उनले थपे ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।