वुवाको विरासत थाम्दै इलाम २ बाट प्रतिनिधि सभामा सुहाङ नेम्वाङ विजयी


ब्युटी न्युज नेपाल
इलाम १८ बैशाख

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ को उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङ बिजयी भएका छन् । उनले २७ हजार ७७२ मतल्याई बिजय हाँसिल गरेका हुन् । आज विहान आएको निर्वाचन परिणाममा नेम्वाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । एमाले उम्मेदवार नेम्वाङलाई नेकपा माओबादी र नेपाल परिवार दलको समर्थन थियो ।

पूर्व सभामुख सुवाङ नेम्वाङका छोरा सुहाङ नेम्वाङ हुन् । सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य रहेका सुवासको निधन भएपछि रिक्त रहेको स्थानमा वुवाको उत्तराधिकारीको रुपमा एमालेबाट उम्मेदवार बनेका सुहाङले बिजय हाँसिल गरेका हुन् ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)ले ११ हजार ४५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मँगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले ८१६ मत मात्र ल्याए ।

यो उप निर्वाचनमा इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज प्राप्त अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा सदर मत ६८ हजार ४७२ को १० प्रतिशत ६ हजार ८४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाए । निकै ठुलो प्रचार प्रसारका साथ मैदानमा उत्रिएको रास्वपाले समेत आफ्नो जमानत त्यहाँ जोगाउन सकेन ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा “निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ”, भनिएको छ ।