अनमोल र जसिता फर्की फर्की माया लाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ बैशाख

अभिनेता अनमोल केसीको महत्वकाँक्षी चलचित्र ‘फर्की फर्की’ आगामी १० जेठबाट रिलिज हुँदैछ । यही मितिमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनित अर्को चलचित्र पुजार सार्की पनि रिलिज हुने भएकाले दर्शकमा  आगामी १० जेठ प्रति निकै चासो छ ।

यही मेसोमा चलचित्र फर्की फर्कीको शिर्ष गीत ‘फर्की फर्की…’लाई भिडियोसहित शनिबार सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर एकातिर दर्शकको रोजाईमा परेको छ । चलचित्रको ट्रेलर हेरेपछि फर्की फर्कीको कथा हलिउडको सन १९९३ को (टाइम लुप) फ्यान्टासी जनराको फिल्म ग्राउन्डहग डेबाट चोरी गरिएको आरोप एकथरीले लगाएका छन् । तर यो आरोपलाई निर्माण पक्षले अश्विकार गरेको छ ।

यद्यपि यो चलचित्रको पहिलो गीत फर्की फर्कीलाई रिलिज भएको दिन दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सरल भावको यो प्रेमिल गीतमा रोमन बज्राचार्यको शब्द संगीत छ । गीतलाई रोमन बज्राचार्य र निकिता थापाले गाएका छन् ।

यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । गीतको भिडियोमा अभिनेता अनमोल केसी र नायिका जसिता गुरुङले सहयोगी कलाकारसँग नृत्य गरेका छन् ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फर्की फर्कीलाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । यो चलचित्रमा रोमन बज्राचार्यसँगै नरेन लिम्बुको संगीत छ । फर्की फर्कीमा अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।