माइतिघरका नायक सीपीको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ बैशाख

नीजि क्षेत्रबाट पहिलो निर्मित नेपाली चलचित्र ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चितम्बरमप्रसाद लोहनी) को निधन भएको छ ।

काठमाडौंको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा उनको ८६ वर्षको उमेरमा सोमबार दिउँसो १ बजेर २५ मिनट जाँदा निधन भएको हो । उनी लामो समयदेखि अल्जाइमर रोगसँग लडिरहेका थिए ।

नेपाल चलचित्र कलाकार संघको अगुवाइमा सोमबार अपराह्न पशुपति आर्यघाटमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । विभिन्न कलाकार तथा शुभचिन्तकले आर्यघाट पुगेर सीपीको पार्थिव शरीरमा फूलमाला चढाउँदै श्रद्धाञ्जली अर्पण गरे । सोमबार साँझ नै सीपीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

काठमाडौंको डिल्लीबजार हाइटमा बस्दै आएका सीपीकी श्रीमती माला सिन्हा र एक छोरी अभिनेत्री प्रतिभा सिन्हा छन् । पत्नी सिन्हा एक समयकी बलिउड र बंगाली चलचित्रकी चर्चित नायिका हुन् । छोरी प्रतिभा हाल अमेरिकामा छिन् । सीपी र मालाले पहिलो पटकसँगै चलचित्र माईतिघरमा नायक नायिकाको रुपमा अभिनय गरेका थिए ।

उनी रेडियो नेपालमा गायक पनि थिए । उनले केही समय सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए । उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकका रूपमा सीपीले काम गरेका थिए ।