अभिनेत्री पुजा शर्मा र पत्रकार प्रकाश सुबेदी बीच सहमती


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ भदौ

दुई साता देखि आपसी आरोप पत्यारोपमा रहेका अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीले आफ्नो विवाद अन्त्य गरेका छन् । एपी १ टिभीका अध्यक्ष रामेश्वर थापाको सँयोजन र समन्वयमा सँगै चलचित्र सम्बन्धि विभिन्न संघ सँस्थाको अध्यक्षहरुको उपस्थितिमा सो टेलिभिजनको कार्यालयमा बिहिबार यी दुईले आपसी सम्झौता पत्रमा हस्ताक्षर गर्दै विवाद टुँगयाएका हुन् । उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले बताएका छन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर यी दुई बीचको सहमति पत्रमा हस्ताक्षर गर्दै मिलापमा सघाएका हुन् ।

पत्रकार सुवेदीले टेलिजिभन कार्यक्रम ‘रजतपट’ मा अभिनेत्रीहरुलाई मनहानी हुनेगरी बोलेको भन्दै पुजाले सुबेदी बिरुद्ध विभिन्न सँस्थामा उजुरी हालेकी थिईन् । त्यसपछि चलचित्र सम्बन्धि ७ सँस्थाले पनि सुवेदीका दुई ओटा कार्यक्रममा भाग नलिन सनेकर्मीहरुलाई उर्दी जारी गरेका थिए । यती बेला भने उनीहरुबीच सहमती भएको छ । पत्रकार सुवेदीले सो बिषयमा कार्यक्रमबाटै माफी मागिसकेका थिए भने प्रेस काउन्सिलमा स्पष्टिकरण पनि पठाईसकेका थिए । यी सात सँस्थाले पनि पत्रकार सुवेदीको कार्यक्रम बहिष्कार फिर्ता लिईसकेका छन् ।

पुजा र प्रकाशबीच भएको सहमति पत्रमा यस्तो लेखिएको छ, ‘भविष्यमा एकअर्काको पेशा, व्यक्तिगत समेतलाई सम्मान गर्दै आ आफ्नो पेशागत मर्यादामा रहि प्रचलित कानुन र पेशागत आचार संहिताको परिपालना तर्फ सजग रहि भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृतिगत विषयमा समेत दुवै पक्ष संवेदनशिल र सचेत रहने ।’ दुईबीचको विवाद वार्ताबाट टुंगिएकोमा फिल्मकर्मीहरुले खुसी व्यक्त गरेका छन् ।

सो सम्झौतापछि अभिनेत्री पूजाले फेसबुकमा एक स्टाटस लेख्दै आफूले शान्ति चाहेका कारण माफी दिएको बताएकी छन् । उनले लेखेकी छन्, ‘माफी दिन लायक छन् भनेर अरुलाई माफी दिने होइन । यो यसकारण कि तपाईं शान्तिको लायक हुनुहुन्छ ।’