पत्रकारमाझ आउन पाउँदा किन रमाए पुष्प खड्का ?


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ बैशाख

अभिनेता पुष्प खड्काको नयाँ फिल्म नआएको दुई वर्ष हुन लाग्यो । उनीसँग अहिले एउटा बाहेक फिल्म छैन । उनी चलचित्रको छायाँकनमा नगएको पनि दुई वर्ष बढी भयो । आजकाल फाट्ट फुट्ट म्युजिक भिडियोमा देखिँदै आएका यी अभिनेता शुक्रबार सञ्चारकर्मीसँग भेट्दा निकै खुसी भए ।

थानेश्वर गौतमको नयाँ गजल ‘के अर्थ भो…’मा पछिल्लो समय अभिनय गरेको पुष्प यही भिडियोको सार्वजनिक कार्यक्रममा सञ्चारमाझ आएका हुन् । कार्यक्रममा उनले भने,‘लामो समय भएछ पत्रकारहरुमाझ नआएको पनि । आज यहाँहरुलाई भेट्न पाउँदा साह्रै खुसी लागेको छ ।’ उनले आफुलाई सहयोग गर्न सञ्चारकर्मीलाई कार्यक्रममा अनुरोध समेत गरे ।

कार्यक्रममा सार्वजनिक गरिएको गजलमा थानेश्वर गौतम र रन्जिता विश्वकर्माको स्वर रहेको छ । यो गजल प्रभा वर्तौलाले लेखेकी हुन् । जसमा संगीत भने गायक गौतम स्वयमले भरेका हुन् ।

गीतको भिडिओमा अभिनेता पुष्प खड्कासँगै अभिनेत्री स्मारिका र समारिका ढकालको अभिनय रहेको छ । भिडिओलाई मौसम हिमालले कोरियोग्राफी र निर्देशन गरेका छन् । भिडिओ पृश्वी इन्टरटेनमेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।