ग्रामीण चलचित्र महोत्सवमा सतीदेवी र निश्चल बस्नेत उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ बैशाख

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव शनिबार रामेछापमा सम्पन्न भएको छ । यो महोत्सबमा लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतीदेवी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको छ ।

यस्तै उत्कृष्ट निर्देशनको अवार्ड चलचित्र दिमाग खराबबाट निश्चल बस्नेतले हाँसिल गरेका छन् । महोत्सबमा विभिन्न १६ विधामा अवार्ड प्रदान गरियो ।

महोत्सबमा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र नाँगो गाउँबाट दयाहाङ राईले र उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र दिमाग खराबाट स्वस्तिमा खड्काले हाँसिल गरिन् । यस्तै अभिनेत्रीको जुरी मेन्सन अवार्ड चलचित्र सतिदेवीबाट मलिका महतले प्राप्त गरिन् ।

यस्तै लघु चलचित्रतर्फ म्युजिकल शर्ट फिल्मको अवार्ड अन्तै मायाबाट रणधीर श्रेष्ठले, सर्ट फिल्म जुरी मेन्सन अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवालीले, उत्कृष्ट शर्ट फिल्मको अवार्ड मदरबाट परिच्छेद सेनले र उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड द आइरन डिगरबाट अनिल बुढा मगरले हाँसिल गरे ।

यस्तै यो महोत्सबमा उत्कृष्ट सम्पादकको अवार्ड नाँगो गाउँ चलचित्रबाट बनिश शाहले, उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र बिच्छेदबाट सँकल्प भुलेजले, उत्कृष्ट रँग सँयोजनको अवार्ड राजेन्द्र मोक्तानले र उत्कृष्ट साँस्कृतिक चलचित्रको अवार्ड मगर भाषाको चलचित्र माराङबाट बुद्दिया एस मगरले जिते ।

कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की, चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाललगायतले सो अवार्ड प्रदान गरे । अवार्डमा दयारामसहित सञ्चारकर्मी, गणेश पाण्डे, कुवेर गिरी, सम्पादक भरत रेग्मीलगायत यो महोत्सबमा निर्णायक थिए ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाण्डौँबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको सुटिङ्ग गर्ने खालका धेरै ठाउँहरु आफुले यात्राको क्रममा देखेको बताए ।

उनले ग्रामीण परिवेशमा बन्ने फिल्महरु सुटिङ्गका लागी रामेछाप उपयुक्त ठाउँ रहेको र फिल्म तथा सर्ट फिल्महरुका निर्मातालाई सुटिङ्गका लागी रामेछाप जिल्लालाई छनौट गर्न पहल गर्ने धारणा राखे ।

कार्यक्रममा अभिनेता मुकुल भूषाल,महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर,रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक,निर्माता तथा कलाकारहरुको उपस्तिथी रहेको थियो ।

महोत्सवमा चर्चित चलचित्र दिमाग खराब,नाङ्गो गाउँ,बिच्छेद,सतीदेवी,डेसान लगायत चलचित्रहरु निःशुल्क प्रदर्शन भए । यी सिनेमाको साथमा सर्ट फिल्म,डकुमेन्ट्री र विभिन्न भाषाभाषीका चलचित्रहरु पनि प्रदर्शन भए।

महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषय सिनेमा संवाद कार्यक्रम पनि भएको आयोजकले जानकारी दिएको छ । रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेले पनि दर्शक संग बसेर सिनेमा हेरे। उनले सिनेमाले मनोरंजन मात्र नभई समाजलाइ संदेश पनि दिने बताए।

रामेछाप नगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा भएको महोत्सवमा २००० जना भन्दा बढी दर्शकले सिनेमा हेरेका थिए। महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।