२५ जेठबाट लकडाउन खुकुलो हुँदै, सबै पसलदेखि आन्तरिक बिमानसम्म खोल्ने तयारी


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ जेठ,

नेपाल सरकारले आईतबारबाट लकडाउन खुकुलो पार्ने भएको छ । ३२ जेठसम्म लकडाउन घोषणा गरिए पनि आम नागरिकले लकडाउनको अबज्ञा गर्दै पसल सञ्चालन देखि काम सुरु गरेपछि सरकारले लकडाउन खुकुलो पार्ने तयारी सुरु गरेको छ ।

कोभिड १९ नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिकाले कोरोना सँक्रमणको अबस्थालाई हेरेर जिल्ला बर्गिकरण गरी सोही अनुसार लकडाउन खुकुलो पार्ने भएको छ । जेठ २५ देखि लकडाउन खुकुलो पार्दै १ असारबाट भदौ अन्तिमसम्म लकडाउन खुलाउने योजना बनाएको छ । सो योजनालाई यो समितिले मन्त्रीपरिषदमा लाने भएको छ ।

सो योजना अनुसार अब एक सयभन्दा कम कोरोना संक्रमित भएको र सँक्रमण सक्रिय नभएको जिल्लामा पूर्ण सावधानी अपनाउँदै काममा फर्कन मिल्नेगरी २५ जेठबाटै लकडाउन खुकुलो पार्ने भएको छ । जसका लागि अति सँक्रमित, सँक्रमित, सँक्रमण न्युन भएको, सँक्रमण नदेखिएको र सँक्रमण पूर्ण नियन्त्रण भएको जस्ता पक्षलाई बर्गिकरण गरेर सम्बन्धि जिल्लालाई सोही अनुसार खुला गरिने भएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड १९ नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलको सँयोजकत्वमा शुक्रबार सबेको बैठकले यस्तो निस्कर्ष निकालेको हो । मन्त्री परिषदले लकडाउनलाई लम्ब्याउने की खुला गर्ने भन्नेबारे सुझाब पेश गर्न उच्चस्तरीय समितिलाई बिहिबार निर्देशन दिएको थियो । सोही आधारमा उपप्रधानमन्त्री पोखरेलले शक्रबार विभिन्न मन्त्रीहरुसँग छलफल गरेर लकडाउनको अबस्थाबारे निष्कर्ष निकालेका हुन् । यो समितिले आफ्नो सुझाब भोली शनिबार पेश गर्नेछ । त्यसैले अब सरकारले लकडाउनमा परिवर्तन गर्ने भएको छ ।

सरकारको नीतिअनुसार नै अहिले उत्पादनमूलक उद्योग व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, सबै प्रकारका कृषि व्यवसायहरु र सबै प्रकारका ढुवानी साधनहरु निर्वाध रुपमा चलिरहेको उच्चस्तरीय समन्वय समितिले जनाएको छ । दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय कहिल्यै पनि बन्द नभएको समितिको भनाइ छ ।

अहिले सरकारी तथा विभिन्न नीजि कार्यालय, बैंक तथा वित्तिय संस्था, दैनिक उपभोग्य सामग्रीहरु, डिपार्टमेन्ट स्टोर र खाद्यान्न तथा कृषि स्टेशनरी, औषधी पसलहरु खुल्दै आएका छन् । बुधबारबाटै सबै प्रकारका पसल खुलेपछि सरकारले लकडाउनलाई परिमार्जन गर्ने निर्णय लिएको हो ।

अब सरकारले २५ जेठदेखि भदौ अन्तिमसम्म व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरीमा बसेर कारोबार तथा काम गर्नेगरी सबैखाले पसल, डिमार्टमेन्ट स्टोर, कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु खोल्ने दिनेगरी लकडाउन खुकुलो गर्ने भएको छ । यो निर्णय मन्त्री परिषदमा दुई दिन भित्रै हुने आशा गरिएको छ ।

जेठ २५ गतेपछि दैनिक उपभोग्य सामाग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिमार्टमेन्ट स्टोरहरु पनि मापदण्ड अनुसार सञ्चालन हुन दिने गरी प्रस्ताव तयार भएको छ । त्यसमा कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु पनि पर्नेछन् । यस्तै १ असारबाट सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु र सपिङ मलहरु खोल्नको लागि पनि उच्चस्तरीय समितिले मन्त्री परिषदलाई सुझाब दिएको छ । यस्तै एकै जिल्ला भित्र मात्र चल्नेगरी सवारीसाधन पनि खुला गर्ने सिफारिस सो समितिले गरेको छ ।

रेष्टुरेन्ट र खाजाघर भने अझै तीन साताको अबस्था हेरेर मात्र खोल्न दिनेकी नदिने भन्ने निर्णय सो समितिले लिने छ । त्यस्तै एकैपटक २५ जनाभन्दा बढी भेला हुने कुनै पनि क्रियाकलाप नगर्ने र सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि खोल्न नहुने सिफारिस गरिएको छ । यस्तै सभा समारोह, उत्सव, भोज भतेर जस्ता जमघट भदौ अन्तिमसम्म सन्चालन नगर्ने सिफारिस छ ।