चार्टर्ड फ्लाइटमा फर्किईन भुटानी अभिनेत्री


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ बैशाख

नेपाली चलचित्र २ नम्बरीको छायाँकनमा आएकी भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । नेपाली चलचित्र छायाँकनको कामले उनी ८० दिनअघि काठमाडौं आएकी थिइन् ।
दीपेन्द्र लामाद्वारा निर्दे्शित र किरण नेपाली निर्माता रहेको फिल्म ’२ नम्बरी’को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । निर्देशक लामाका अनुसार अझै ७५ छायांकन बाँकी छ । अझै छायाँकन केही समय नहुने भएपछि उनी भुटान फर्किएको निर्देशक लामाले बताएका छन् ।

शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान उगेनलाई लिन काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो ।

अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्ने्छिन् । उनी थिम्पुकै वासिन्दा हुन् ।

लामा अनुसार लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्नेछ । आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो । उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन् । फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन् । २ नम्बरीमा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन् ।

‘लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारनटान अवधिभर फिल्महरु हेर्नेछु र केही किताब पढ्नेछु,’ उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन्, ’अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो । अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाउँ ।’ लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन् ।