पुजार सार्कीमा आर्यनले गरे आफ्नै पिताको नक्कल चरित्र


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ जेठ

प्राय चलचित्रमा चकलेटी भूमिकामा प्रस्तुत हुने अभिनेता आर्यन सिग्देल यसपटक चलचित्र पुजार सार्कीमा गम्भिर भूमिकामा छन् । १० जेठबाट रिलिज हुने यो चलचित्रमा उनी पुजारीको भूमिकामा छन् । उनी चलचित्रमा पुजारी (ब्रम्हण)को चरित्रमा छन् । आफुलाई अर्ध नास्तिक र अर्ध आस्तिक मान्ने उनी मनको भगवानलाई विश्वास गर्छन् ।

यो चलचित्रमा उनी आफ्नो वुवाको तीन दशक अघिको गटअपमा प्रस्तुत छन् । रमाईलो कुरो के भने पुजार सार्कीका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। चलचित्रका पात्रको गेटअप निर्माणको क्रममा आर्यनसँग बुबाको सोही फोटो मागेर यस्तै रुपमा आफुलाई सिनेमामा उतार्न सुझाब दिए ।

सो चरित्रको लुक्सबारे आर्यनले भने,“मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुप¥यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,” आर्यनले बताए। आफ्नो चरित्रको तस्बिर बाहिरिएपछि बुवा समेत खुसी भएको आर्यनले सुनाए, “निकै सुहाएको छ, मेरै कपी गरिछस् भनेर बुबाले भन्नुभयो,”

यस चलचित्रमा आर्यनको जोडीमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्। यसमा आर्यन पुजारी छन्। उनको प्रेम अञ्जनासँग हुन्छ। “यस चलचित्रको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन”, आर्यनले कथाबारे बताए।

चलचित्र करियरको सुरुवात देखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेका आर्यनलाई यो चरित्र चुनौतीपूर्ण लागेको थियो, “अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ। त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर चलचित्र अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,” आर्यन भन्छन् ।

यो चलचित्रले उनको करियरमा केही इँटा थप्नेमा उनी विश्वस्त छन्। चलचित्रकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र चलचित्रमा काम गर्न रुचाउँछन् भनने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन्,“मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो चलचित्रले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,” उनले दाबीका साथ भने।

‘पुजार सार्की’को ट्रेलरप्रति जहाँ जाँदा पनि आफ्ना शुभचिन्तकको चासो बढेकोमा आर्यनको भनाई छ । चलचित्र ‘पुजार सार्की’ किन हेर्ने भन्ने प्रश्नमा आर्यन प्रस्ट छन्,“यो चलचित्र दिनेश राउत, विकास सुवेदी, पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काको विश्वासका लागि पनि हेर्ने हो। के विषय, कुन आइडियामा चलचित्र बनेछ, यी पाँच जना कसरी बाँधिन सके भन्ने चासो हुनेले अवश्य नै यो चलचित्र हेर्नुहुनेछ,” आर्यन भन्छन्, “चलचित्रले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ। ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न पनि ‘पुजार सार्की’ हेर्नुपर्छ।”