म यस्तो गीत गाउँछु २ को रिलिज स्थगित


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

विश्वभरी फैलिएको कोरोना भाइरसको कारण देखाउँदै हलिउडका सिनेमाको रिलिज धमाधम स्थित गरिएको छ । यसै क्रममा चलचित्र निर्माता निर्देशक सुदर्शन थापा एक विज्ञप्ति जारी गर्दै कोरोनाको उच्च सतर्कतालाई मध्यनजर राख्दै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चतकालका लागि स्थगित गरेको बताएका छन् ।

यो चलचित्र यही ३० फागुनबाट देशव्यापी सिनेमाहलमा प्रदर्शन गर्ने तयारीका साथ प्रचार गरिएको थियो । तर सरकारले नै कोरोना भाईरसको जोखिममा सावधानी अपनाउन आग्रह गरेपछि आफुहरुले चलचित्रको प्रदर्शन स्थगित गरेको निर्देशक थापाले बताएका छन् ।

चलचित्रको रिलिज रोक्नु परेकोमा निर्माण पक्षले दर्शकसँग क्षमा पनि मागेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल सरकारको अर्को सूचना नआउँदासम्म फिल्म प्रदर्शनमा आउने छैन । कोरोनाको त्रासले अहिले हलमा दर्शक जान डराइरहेको अवस्था छ । यसको असर व्यापारमा पुग्ने देखेर निर्देशक सुदर्शन थापाले फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय लिएका हुन् ।

चलचित्र म यस्तो गीत गाउँछु २ मा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतको अभिनय छ । यो चलचित्रको पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । जसमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।