१७ विधामा रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड


काठमाडौं । नेपाली संगीतको क्षेत्रमा एउटा इँटा थप्ने भन्दै रेडियो कान्तिपुरले आगामी माघ २६ गते ‘रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड २०७४’ आयोजना गर्ने भएको छ ।रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीले अवार्डले विदेशका जुनसुकै मुलुकमा बस्ने नेपालीका गीतलाई पनि समेटेको बताए । ‘अन्य अवार्डले राष्ट्रियस्तरका गीतलाई समेटे पनि हामी विदेशमा बस्ने नेपालीहरूले गाएका, लेखेका र संगीत भरेका गीतलाई पनि मनोनयनमा राखेका छौं,’ उनले भने, ‘अन्य आयोजकले अवार्डको तयारीमै गीत दर्ता गराउन आह्वान गर्छन् । तर, हामीले एकपटक कुनै पनि माध्यममार्फत सार्वजनिक भएका गीतलाई अवार्डमा समेटेका छौं । हाम्रो रेडियोबाट बजेकै गीत हुनुपर्छ भन्ने पनि छैन । जुनसुकै माध्यमबाट भए पनि गीत चाहिँ सार्वजनिक भएकै हुनुपर्छ ।’

दिनेशले रेडियोले पहिलोपटक अवार्ड आयोजना गर्न लागिएकाले पनि संगीतका प्रमुख विधालाई प्राथमिकतामा राखिएको बताए । अवार्डको शीर्ष प्रायोजक एमआई मोबाइलका नितेश मुद्राले अहिलेको युवा सांगीतिक गतिविधिमा सक्रिय रहेकाले उनीहरूलाई प्रोत्साहन गर्न अवार्ड गरिएको बताए । ‘हाम्रो मोबाइलको लक्षित वर्ग नै युवा भएकाले पनि यो अवार्डमा सहकार्य गर्न इच्छुक भयौं,’ उनले भने ।

आयोजकका अनुसार एक लाइफ टाइम अचिभमेन्ट अवार्डसहित १७ विधामा अवार्ड र उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पुरस्कृत गरिनेछ । अवार्डमा ‘उत्कृष्ट नवगायक’, ‘उत्कृष्ट नवगायिका’, ‘उत्कृष्ट रचनाकार’, ‘उत्कृष्ट संगीतकार ’, ‘उत्कृष्ट लोकदोहोरी गायक’, ‘उत्कृष्ट लोकदोहारी गायिका’, ‘उत्कृष्ट पाश्र्व गायक’, ‘उत्कृष्ट पाश्र्व गायिका’, ‘उत्कृष्ट राष्ट्रिय गीत’, ‘उत्कृष्ट पप गायक’, ‘उत्कृष्ट पप गायिका’, ‘पब्लिक च्वाइस’, ‘उत्कृष्ट समूह गायन’, ‘उत्कृष्ट आधुनिक गायक पुरुष’, ‘उत्कृष्ट आधुनिक गायक महिला’, ‘उत्कृष्ट गीत’ र ‘उत्कृष्ट एल्बम’ छन् ।

आयोजकले नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका एक संगीतसाधकलाई १ लाख रुपैयाँ राशिको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइनेछ । २०७३ साउन १ गतेदेखि २०७४ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपालीहरूलाई अवार्डमा समेटिएको छ । आयोजकका अनुसार प्रारम्भिक चरणमा गीतकार दिनेश अधिकारी, संगीतकार सुरेश अधिकारी र गायिका कुन्ती मोक्तान सम्मिलित तीन सदस्यीय जुरी बनाइएको थियो । उनीहरूले छनोट गरेका उत्कृष्ट पाँच मनोनयनमा परेकामध्येबाट सर्वोत्कृष्ट छान्न संगीतका साधक सम्मिलित तीन सदस्यीय अर्को निर्णायक मण्डल गठन गरिएको छ ।