रिक्सा चालकलाई चलचित्र धुलोको सम्मान र छात्रबृत्ति


शुक्रबार १६ फागुनबाट प्रदर्शन

ब्युटी न्युज नेपाल
काठमाडौं,१४ फागुन

चलचित्र ‘धुलो’ युनिटले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरि लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गर्यो । यो चलचित्र शुक्रबार १६ फागुनबाट सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

कार्यक्रमपछि ‘धुलो’मा बिशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनीत बुद्धि तामाङ, निर्देशक मिश्र, चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी, निर्देशक समाजकी अध्यक्ष राणालगायत फिल्मको युनीटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो ।

बिगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउदै आएका हिरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउदै आएका बलबहादुर श्रेष्ठलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिति बरिष्ट चलचित्रकर्मी नीर शाह, बिशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए ।

करिब एक सय जना रिक्सा चालकलाई ‘धुलो’ अंकीत ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मज्दुरका दुई जना छोराछोरीलाई छात्रबृत्तिको ब्यबस्था मिलाइएको घोषणा गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता शाहले ‘धुलो’ ले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुशी ब्यक्त गरे । चलचित्र निर्माता संघका अध्यक्ष अधिकारीले ‘धुलो’ यथार्थपरक कथामा निर्माण गरिएकाले हरेक मान्छेको मन छुने बिश्वास ब्यक्त गरे । अभिनेता तामाङले आफू‘धुलो’ मा बास्तविक जीवनहरुसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको बताउदै दर्शकको प्रिय बन्ने आशा ब्यक्त गरे ।

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तबिक कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए ।

कार्यक्रममा ‘धुलो’ ले गरेको समाजीक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रसंसा गरेका थिए ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्मको प्रोजेक्ट एडभाइजरमा सिके वाग्ले छन् । केशब मिश्र र दीपक समीरको गीत, जुगल डंगोल, शंकर थापाको संगीत, रबिन आचार्यको छायांकन रहेको छ ।