१६ विधामा प्रदान गरियो हिट्स म्युजिक अवार्ड, यी हुन बिजेता


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ माघ

विभिन्न १६ विधामा यो वर्षको २३औं हिट्स म्युजिक अवार्ड–२०७६ प्रदान गरिएको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा शिनबार एक समारोहबीच २३औं संस्करणको हिट्स म्युजिक अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई समारोहमा ‘लाइफ टाइम एचिमेन्ट अवार्ड–२०७६’बाट सम्मानित गरियो । नेपाली संगीत क्षेत्रमा पाँच दशकभन्दा लामो योगदान पु¥याएको भन्दै उनलाई सो सम्मान गरिएको आयोजक पक्षले जानकारी गरायो ।

सो अवार्ड समारोहमा गायक सविन राईको धन्यवाद… र दुर्गा परियारको बनफुल…गीतले तीन, तीन ओटा विधामा अवार्ड जित्यो । यी दुबै गीतले हिट्स अवार्डमा ह्याट्रिक गरेका छन् ।

पप तथा रक गायक सविन राई एन्ड फेरोहले पप एवं रक गीत धन्यवाद…बाट तीन विधामा अरूलाई उछिनेका हुन् । सविन र उनको समूहले यो गीतबाट उत्कृष्ट समूह गाउनतर्फको अवार्ड, उत्कृष्ट रक गायनतर्फको अवार्ड र उत्कृष्ट पप एवं रक संगीत सिर्जनाको अवार्ड हाँसिल गरे । यस्तै बनफुल…गीतबाट गायिका दुर्गा परियारले आधुनिक गायिका तर्फको अवार्ड हाँसिल गरिन् । यो गीतबाट सुरेश अधिकारीले आधुनिक विधामा उत्कृष्ट संगीत सिर्जनाको अवार्ड प्राप्त गरे । यही गीतबाट उत्कृष्ट संगीत संयोजनको अवार्ड फणिन्द्र राईलाई प्रदान गरियो ।

दुर्गा परियार

आधुनिक गायनतर्फ उत्कृष्ट गायकको अवार्ड तिम्रो यादमा…गीतबाट दीपक श्रेष्ठले हाँँसिल गरे । आधुनिक गीततर्फ उत्कृष्ट रचनाको अवार्ड वर्तिका एम राईले आशा…गीतबाट हाँसिल गरिन् ।

प्रत्यक्ष गीत संगीतको प्रस्तुतिसहित आयोजना गरिएको हिट्स म्युजिक अवार्ड–२०७६ मा सर्वोत्कृष्ट गीतको अवार्ड दीपक बज्राचार्यले गीत मन मगन…बाट पाए । उत्कृष्ट गीतिसंग्रहको अवार्ड सुनिता कार्कीले आफ्नो गीतिसंग्रह ‘सुनमाला’बाट हाँसिल गरिन भने नवप्रतिभाको अवार्ड गल्ती…गीतबाट बिक्रम बराललाई प्रदान गरियो ।

यस्तै युगल गायनतर्फको अवार्ड महेश काफ्ले र मेलिना राईलाई गीत नाच फिरिरी…बाट प्रदान गरिएको सो कार्यक्रममा पप गायकको अवार्ड मलाई म जस्तै बन्न देऊ…बाट शिव परियारले प्राप्त गरे । यस्तै, चलचित्रतर्फको उत्कृष्ट गीतको अवार्ड राजनराज शिवाकोटीले चलचित्र चंगा चेटको गोजीमा दाम छैन मेरो…बाट हाँसिल गरे ।

पप गायिकाको अवार्ड छोडेर नजाऊ…बाट आस्था तामाङ मास्केलाई दिइयो । यस्तै, उत्कृष्ट लोक गीतको अवार्ड सालको पात टपरी हुने…बाट कुलेन्द्र विक र विष्णु माझीलाई प्रदान गरियो ।

यो अवार्डको आयोजना हिट्स एफएमले गरेको हो । २०७५ साल भरीमा सो एफएममा दर्ता भएका गीतबीच अवार्ड गरिएको आयोजक पक्षले सो अवार्ड समारोहमा जानकारी दियो ।

अवार्ड समारोहमा विभिन्न कलाकारले आफ्ना गीत सुनाए । अवार्ड जित्ने कलाकारले मात्र गीतसँगीत प्रस्तुत गरेका थिए । अवार्ड बिजेता सविन राई एन्ड द फेरोहले धन्यवाद… दुर्गा परियारले बन फुल…गाए भने सुनिता कार्की र वर्तिका एम राईले पनि अवार्ड जितेको गीत प्रस्तुत गरे । गीत गाए वापत अवार्ड पाए भन्ने टिप्पणी पनि कार्यक्रममा एकथरी दर्शकले गरेका थिए ।