सुनिताले ल्याईन सुरबी र बिम्ब

ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

गीतकार सुनिता बस्नेत थापाको गीतिसंग्रह ‘सुरबी’ श्रोतामाझ आएको छ । काठमाडौंमा एक समारोहमाझ यो गीतिसँग्रहको गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटा, डा. कृष्णहरी बराल, डा.राजुबाबु श्रेष्ठ, राजनविक्रम थापालगायतले बिमोचन गरे । सुनिता बस्नेतद्वारा रचित एल्बम सुरबीसँगै र कवितासंग्रह विम्ब पनि बिमोचन गरियो ।

कार्यक्रममा बिमोचित कवितासंग्रहमा ९२ वटा कविता छन् । रत्नपुस्तक भण्डारबाट बजारमा आएको यो विम्ब कवितासंग्रहभित्र कविले कविता, गजल, मुक्त र हाइकूलाई समावेश गरेकी छन् ।

त्यस्तै शुभकामना मिडिया सोलुशनद्वारा बजारमा आएको गीतिसंग्रह सुरबीमा मास्केकै एकल संगीत र प्रदीप श्रेष्ठको एकल संगीत संयोजनमा गीतहरु छन् । एल्बममा सुनिल मास्के, शिव परियार, विश्व नेपाली, वानिका प्रधान, मेलिना राई र अस्मिता अधिकारीको स्वर रहेको छ । सँग्रहमा रहेका गीतमा सँगीतकार सुनिल मास्केको पनि स्वर छ । आफु २७ वर्षपछि यो सँग्रहको गीतबाट गायनमा फर्केको मास्केले बताएका छन् । अब उनले गायनलाई निरन्तरता दिन्छन या फर्कने रहर मात्र हो, त्यो हेर्न बाँकी छ ।

कार्यक्रममा कवि, गीतकार एवं कथाकार डा.राजुबाबु श्रेष्ठले कवि तथा गीतकार सुनिता बस्नेतले पहिलोपटक आफूलाई साहित्यमा उभ्याए पनि उनका सिर्जनाभित्र नेपाली माटो, आफ्नै पाखा पखेरा, आमाबुबा, साथीभाइको यादले सताइरहेको अनुभूति भएको बताए ।

वरिष्ठ गीतकार तथा गजलकार डा. कृष्णहरी बरालले कवि तथा गीतकार सुनिता बस्नेतको लेखाइभित्र आफ्नैपनको विम्ब भेटिएको बताए । जन्मिएको भूगोलतिर समर्पित हुँदै लेखिकाले गीत र कविताको सिर्जना गरेको हुँदा निरन्तर यसरी नै लेखिरहनका लागि सबैले उर्जा थप्नुपर्ने बताए ।

गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटाले माटो र मुटुकै कथाभित्र सुनिता बस्नेत पनि अगाडि बढेको बताउँदै डायस्पोरिक व्यक्तित्वहरुबाट नै नेपाली संगीत तथा साहित्यको क्षेत्र मजबुत बन्दै गएको बताए ।

कार्यक्रममा सुनिल मास्के र मेलिना राईको स्वरमा रहेको तिमीलाई भेट्न बोलको गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने निराजन प्रधान र जेबिका कार्कीको अभिनय रहेको छ ।